धरान: बिहिबार दिउँसो अचानक परेको भारी बर्षासँगै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा बाढी पस्दा ड्रेनमा बगेर एक विद्यार्थीको मृत्यु भएको छ ।

स्कुलबाट घर फर्कदै गदरेका वडा नं १७ पृथ्वी चोक नजिक नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी भएको वडा नं १७ का सदस्य मनिष बिष्टले जानकारी दिए । 

बिष्टका अनुसार ड्र्रेनले बगाएका लिम्बुको शव वडा १७ को ठकुरी खोलामा झ्यासमा अड्कीएको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीलाई खबर गरेर हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको पनि विष्टले जानकारी दिए । उनका अनुसार विगतमा वडा नं ११ मा बस्दै आएको लिम्बुको परिवार करिब ४ महिना अघि मात्र वडा १७ मा बसाई सरेको थियो ।

बिहिबार दिउँसो अचानक भारी बर्षा भएको थियो । त्यसबेला मृतक लिम्बुसहित ३ जना विद्यार्थीहरु कोचिङसमेत पढेर करिब ५ बजेतिर घर फर्कदै थिए । वडा ११ को मंगलबारेदेखि शुरु हुने ऐश्वर्य मार्गमा बर्षाको बेला ठुलो बाढी पसेर खोला झै बन्ने गरेको छ । सोही बाटोमा बाढी देखेपछि अन्य २ जना साथीहरु डरले नगएको तर रोशन भने हिड्दै जादा ड्रेनमा पसेर बगाएको थियो । ‘त्यो बाटो र ड्रेनलाई चाडै नगर र वडा ११ ले व्यवस्थापन गर्नुपर्ने देखियो । बर्षाको बेला ज्यादै खतरा बन्छ,’ वडा १७ का सदस्य बिष्टले भने ।