धरान: कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, मन्त्रालयका सचिव प्रदिप वान्तावासहितको टोलीले धरानमा केही दिनअघिको बाढीले क्षति पुगेको स्थानहरुको अवलोकन गरेको छ । 

प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघाले बाढीले क्षति पुगेको विभिन्न वडाहरुमा मन्त्री कार्कीसहितको टोलीलाई अवलोकन गराएका थिए । मन्त्री कार्कीले बाढीले धरानमा भएको क्षति दर्दनाक अवस्थामा रहेको बताए ।

‘धरानमा बाढीले गरेको क्षतिको अवलोकन गरेका छौं । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गछौं,’ मन्त्री कार्कीले भने,‘दर्दनाक अवस्था छ । तत्काल के गर्न सकिन्छ, र दीर्घकालिनरुपमा के गर्ने भनेर पनि सरोकारवालाबीच हामी बस्छौं ।’ भत्किएको ऐश्वर्य मागलगायत सडक तत्काल सञ्चालन गर्ने र दोस्रो चरणमा त्यसपछि पुर्ननिर्माण गर्न वडा र उपमहानगरपालिका, प्रदेशका सांसदहरुसँग नियमित समन्वय हुने पनि मन्त्री कार्कीले बताए ।

wada 13

प्रदेश सांसद बस्नेतका अनुसार मन्त्रीसहितको टोलीले वडा १३, १६, १, ११ र १७ का विभिन्न ठाउँहरुमा खहरे, सर्दु र ड्रेनहरुले गरेको क्षतिको प्रारम्भिक अवलोकन गरेको छ । ‘प्रदेश सरकारका मन्त्री, सचिव, सिचाई डिभिजन प्रमुख नै आएकोले पक्कै पनि सहयोग त आउछ नै,’ उनले भने,‘तर यहाँको आवश्यकता र क्षति अनुसार हुन्छ वा हुदैन अहिले यकिन छैन, तर केही न केही सहयोग हुन्छ । पुर्ननिर्माण गर्ने र राहत दिने काम हुन्छ । करोडौंको क्षति भएकोले सबै तुरुन्तै बनिहाल्छ भनेर अहिल्यै भनिहाल्न चै सकिदैन ।’ उनका अनुसार प्रारम्भिकरुपमा धरानमा बाढीले १० करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । 

aisworya marga' copy 1

उपमेयर बेघाले नगरपालिकाले सक्ने निर्माणको कार्य यहीबाट गर्ने र नसक्ने कामहरुको लागि प्रदेश सरकारलाई आग्रह गर्ने बताए । ‘प्रदेशबाट मन्त्री, सचिव, सिचाईका प्रमुख आउनुभएको छ, उहाँहरुलाई नै सहयोग गर्न आह्वान गछौ,’ उनले भने, ‘काम चाडै शुरु हुन्छ । परिणाम देखिने गरि नै काम हुन्छ ।’ 

बाढीले क्षतिग्रस्त बनेको वडा नं ११ स्थित ऐश्वर्य मार्गको अवलोकन गर्दै प्रदेश सांसद विजय राईले उक्त सडकमा स्थानीय र प्रदेशबाट नभै एसियाली विकास बैंक(एडिबि)बाट नै लगानी हुने सुनिश्चित भएको बताए । तर, बाटोमा जग्गा विवाद समाधान हुनुपर्ने उनले बताए । ‘३० फुटभन्दा माथिको बाटोमा एडिबिको लगानी हुन्छ । यहाँको जग्गाको विवाद चै समाधान हुनुपर्छ,’उनले भने ।

भिडियो: