धरान: नागरिक समाज कल्याण केन्द्रको १४ औँ साधारण सभा तथा दशैं, तिहार र छठपर्व २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार धरान १५ महादेव चोकस्थित शिवालय मन्दिरमा भएको कार्यक्रममा आजिवन सदस्यहरुलाई फोटो फ्रेमसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विष्णु मेमोरियल स्कुकला प्रिन्सिपल निलमकुमार श्रेष्ठ र लेखापाल थान कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष अमर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा नं १५ का वडा अध्यक्ष नरेश इवारमले सम्मान पत्र प्रदान गरेका थिए । 

केन्द्रका सचिव पदममणी पौड्यालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनलक्ष्मी प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाले गतबर्ष स्थानिय बासिन्दालाई समन्वय गरी वनभोज कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रमले भातृत्व भावनाको विकासमा टेवा पुगेको जनाएको छ । 

यस्तै, महादेव चौक स्थित एक मात्र शिवालय मन्दिरको विधान बनाएर केन्द्रको पहलमा दर्ता गरिएको छ भने वीरनारायण टोल विकास संस्थासँग समन्वय गरेर आवश्यक भवन निर्माण तथा कार्यक्रमस्थल र एक खेल मैदान स्थल उपलव्ध गराउने भन्ने निर्णय पनि गरेको जनाएको छ । 

संस्थाले आगामी बर्ष न्यानो कपडा वितरणलाई पुनः सुरुवात गर्ने, बनभोज कार्यक्रमलाई निरन्तरता दिने, वेभसाईट निर्माण गर्ने, योगा कार्यक्रम सञ्चालन गर्ने, रक्तदान कार्यक्रमलाई निरन्तरता दिने, लिडरशिप तालिम संचालन गर्नेलगायतका योजनाहरु रहेको अध्यक्ष अमर राईले जानकारी दिए । 

यो संस्था स्थानीय बुद्धिजिवी एवं समाजसेवी भोजराज श्रेष्ठले २०६६ सालमा शुरु गरेका थिए । विभिन्न कारणले स्कुल जान नसक्ने बालबालिकाहरुलार्य स्कुल जानुपर्छ भनेर प्रेरित गर्न उनले घरदेखि स्कूल सम्मू भन्ने कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कामलाई संस्थागत गर्ने क्रममा जेष्ठ नागरिकहरुको लागि पनि केही गर्नु पर्छ भन्ने उद्देश्य साथै विकृती विसंगती विरुद्ध चेतना मुलक अभियान संचालन गर्न केन्द्र स्थापना भएको संस्थाका सदस्य जोरस दाहालले बताए ।