धरान: शनिबार राती मोरङको ग्रामथान गाउँपालिका ४ कटहरा टोलस्थित बाँसघारीमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले १८ लाख बढी नगद पनि वरामद गरेको छ । 

गोप्य सुचनाको आधारमा राती करिब ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले छापा मारेको थियो । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा महेश शाह तेली, लोकनाथ सापकोटा, जनक कुमार मास्के, रितु वर्ण नेम्बाङ, युवक कुमार राई, जय किशन साहु, प्रताप भन्ने इच्छा राई, हाहीलाल माझी र शिव नारायण माझी रहेका छन् । जुवाको खालबाट नगद १८ लाख ५१ हजार पाँच सय पनि वरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भएर इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ । बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, काठको बाकस १ थान, स्टिल प्लेट ४ थान, कपडाको झोला २ थान र मोबाईल १५ थान पनि प्रहरीले वरामद गरेको जनाएको छ ।