धरान: धरान वडा नं १७ स्थित सरस्वती खोल्सी(खहरे)ले बर्षायाममा भयंकर रुप लिन्छ । उक्त खहरेको आसपास घर भएकाहरुको रातमा निन्द्र हराउछ । बाढीले कटान भएर एक घर विस्थापित समेत भइसकेको छ ।

आइतबार सिमसिम बर्षाको बाबजुद सरस्वती खोल्सीबाट प्रभावित बासिन्दा भने हर्षित थिए । कारण थियो, सरस्वती खोल्सी आरसिसि, प्लम्प वाल करिडोर निर्माण गर्न भएको शिलान्यास । करिडोर बनाउन मेयर हर्कराज राई (साम्पाङ)ले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडाका अन्य जनप्रतिनिधि र स्थानीयबासीहरु पनि उपस्थित थिए । 

बर्षा शुरु भएपछि रातभरि सुत्न नसक्ने र जाली बोकेर कुद्नुपर्ने समस्या हल गर्न करिडोर निर्माणको योनजा शिलान्यास गरिएको मेयर साम्पाङले बताए । ‘दुई तिर नै क्षति नहोस् भन्ने उद्देश्यले करिडोर बनाउन लागेका हौ । यसले धरान १७ को विकासमा थप टेवा पुग्छ, आसपासमा बस्नुहुनेलाई आवतजावत राम्रो हुन्छ, र खहरे नियन्त्रण पनि हुन्छ,’ उनले भने । 

saraswati1 copy

वडाअध्यक्ष भट्टराईले लामो समयदेखि सरस्वती खहरेले दुःख दिइरहेको र अघिल्लो पालादेखि नै छलफल, पहल गरेर डिपिआर तयार गरिएको बताए । ‘अहिले करिडोरले मुर्तरुप पाउदैछ, यसले खोला छेउछाउ बस्ने बासिन्दालाई राहत दिनेछ भने सौन्दर्य पनि थपिनेछ,’ उनले भने,‘यो करिडोर अन्य वडालाई पनि नमुना हुनेछ।’

उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार यो करिडोर बहुबर्षीय आयोजना अन्र्तगत हो । करिडोरको लेआउट भैसकेकोले तत्काल काम पनि शुरु हुने उनले बताए । श्रेष्ठका अनुसार करिडोर २९० मिटर लम्बाईको काम हुनेछ । खोलाको भाग १८ देखि २० फिट खोला दुवैतर्फ १०÷ १० फिटको बाटो निर्माण हुने पनि श्रेष्ठले जानकारी दिए । ‘खोलापट्टी आरसिसि वाल रहन्छ, र बाहिर प्लम्प वाल रहन्छ,’ उनले भने, ‘१८ महिनामा योजना सकिन्छ ।’ 

sarswati2 copy

करिडोर निर्माणको ठेक्का देवीथान विर कविल जेभी विराटनगरले पाएको छ । भ्याटसहित ६ करोड ६० लाख ४७ हजार ७ सय रुपैयामा उक्त कम्पनीले ठेक्का पाएको छ । करिडोर २०८२ पुष १५ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । 

करिडोर निर्माण पहल समितिका अध्यक्ष नरबहादुर लिम्बुले करिडोर बनाउन धेरै बर्षदेखिको पहल साकार हुन लागेको भन्दै खुशी व्यक्त गरे । 'हाम्रो पहिलादेखि कै पहलले सार्थकता पाउन लागेको छ, त्यसैले खुशी छौं, चाडो निर्माण होस्,' उनले भने । 

भिडियो: