विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता समीकरण वदलिएपछि माओवादीले समर्थन फिर्ता लिएको थियो । 

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक गत बैशाख  ३१ गते विश्वासको मत लिएका थिए । 

गठबन्धन फेरिएपछि गत साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो भने भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । गठबन्धन परिवर्तन भएसँगै अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ।