धरान: तीन दिनको निरन्तरको बर्षासँगै आएको पहिरोले कच्ची बाटोसमेत क्षतिग्रस्त भएपछि धरानको वडा नं ४ को तीन वटा गाउँमा पुर्णरुपमा यातायात सेवा अवरुद्ध भएको छ ।

वडा नं ४ र ५ को सिमानामा रहेको मुक्तिला भन्ने ठाउँको खार खोलामा पहिरोले बाटो बगाएपछि वडा ४ को सुमनटारतर्फको सम्पर्क टुटेको छ । उक्त बाटो अवरुद्ध भएपछि मनुवाटार हुदै जाने अर्को वैकल्पिक बाटो छ, तर उक्त बाटोमा पनि पहिरो झरेर अवरुद्ध भएको वडा नं ४ का अध्यक्ष धनबहादुर राईले बताए । उनका अनुसार दुवै बाटो क्षतिग्रस्त बनेपछि अहिले वडा नं ४ को सुमनटार, वाइमा र कटहरे गाउँ यातायात सेवाबाट बञ्चित भएर नाकाबन्दीमा परेझैं भएको छ ।

‘खार खोलामा पहिरोले बाटो भत्काएपछि वैकिल्पक बाटो मनुवाटारबाट थियो, त्यो पनि पहिरो झरेर बन्द भयो,’ वडाअध्यक्ष राईले भने,‘अहिले टेम्पो वैकल्पिक बाटोको मनुवाटारसम्म मात्र आउछ, त्यहाँबाट पैदल हिडेर जानुपर्छ । सुमनटार, वाइमा र कटहरे पुर्णरुपमा बन्द भयो ।’

मेयर साम्पाङ स्थलगत निरीक्षणमा पुगे, पहिरो पन्छाउन जेसिबि पठाउने

wada 4 copy

पहिरोले बाटो अवरुद्ध भएर वडा ४ का गाउँहरु नाकाबन्दी झैं खेप्नुपरेको गुनासो आएपछि सोमबार मेयर हर्कराज राई (साम्पाङ) स्थलगत निरीक्षणमा पुगेका थिए । वडा ४ सुमनटारकी २३ बर्षीय अस्मिता राईले सामाजिक सञ्जाल फेसबुकबाट र आफै पनि उपमहानगरपालिकामा पुगेर मेयर साम्पाङको ध्यानाकर्षण गराएकी थिइन् ।

सोमबार बिहानै वडाअध्यक्ष धनबहादुर राई, वन वातावरण तथा विपत व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरे, वडाका प्राविधिकसमेत लिएर मेयर साम्पाङ वडा ४ को स्थलगत निरीक्षणमा गएका थिए । मुक्तिला भन्ने ठाउँसम्म मोटरसाइकलमा पुगेको टोली त्यहाँबाट भने पैदल हिडेर नै सुमनटार, मनुवाटार, वाइमालगायत गाउँहरु पुगेका थिए । मुक्तिलामा गएको पहिरो मात्र निरीक्षण गर्ने उद्देश्यले पुगेको टोली सुमनटार, मनुवाटारका बासिन्दाहरुको आग्रह पछि पैदल नै गाउँ छिरेको थियो ।

स्थलगत निरीक्षण पश्चात मुक्तिला र मनुवाटार हुदै जाने बाटो पुर्ननिर्माण गर्न समय लाग्ने र बजेट पनि धेरै चाहिने भएकोले तत्काल सम्भव नभएको देखिएको थियो । तर, तत्काल साउने गाउँतर्फबाट बाटोमा खसेको पहिरो पन्छाएर यातायात सुचारु गराउन सकिने निष्कर्षमा मेयर साम्पाङ र वडाध्यक्षको टोली पुगेको थियो । स्थानीयले पनि सोही आग्रह गरेपछि मेयर साम्पाङले भोली (मंगलबार) देखि नै जेसिबि पठाएर साउनेतर्फबाट बाटो खुलाउने प्रतिक्रिया दिए । ‘आएर हेरेर मात्र हुदैन, काम पनि शुरु गरिहाल्नुपर्छ,’उनले भने,‘मुक्तिला र मनुवाटार हुदै बाटो सुचारु गर्न समय लाग्छ, तर साउनेबाट बाटो सफा गर्ने काम शुरु हुन्छ ।’

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: