धरान: किरात राई पत्रकार संघको १७ औं स्थापना दिवसको अवसरमा सुनसरीमा कार्यरत दुई जना पत्रकार सम्मानित एवं पुरस्कृत भएका छन् ।

संघको सुनसरी जिल्ला कार्यसमितिले बिहिबार बराहक्षेत्र चतराका अग्रज पत्रकार हिमाल राईलाई सम्मान र धरानकी देविका राईलाई पुरस्कृत गरेको हो । धरान १७ साकेला साँस्कृतिक पार्कस्थित साकेला पुुस्तकालयमा आयोजित कार्यक्रममा अग्रज पत्रकार हिमाल राईलाई ७ हजार ५ रुपैयासहित चन्द्रकला राई स्मृति पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

यो पुरस्कार किरात राई यायोक्खा धरान वडा १३ का अध्यक्ष श्रीपाल राईले आफ्नी श्रीमतिको स्मृतिमा स्थापना गरेका हुन् । सम्मानित पत्रकार राई राजधानीमा विरामी अवस्थामा भएकोले सम्मान ग्रहण गर्न आउन नसकेको आयोजकले जनाएको छ । उनको सम्मान पत्र पत्रकार गोपाल दाहालले ग्रहण गरेका थिए । राई विगत दुई दशकदेखि विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध रहेर पत्रकारिता गरिरहेका छन् ।

kirapa copy

यसैगरि, सोही कार्यक्रममा धरानमा रहेर विगत एक दशकदेखि क्रियाशिल पत्रकारिता गरिरहेकी देविका राईलाई विद्याकुमारी राई स्मृति सृर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी नगद ५ हजार ५ रुपैया रहेको छ । यो पुरस्कार यायोक्खा धरान वडा १३ का सदस्य कुमार राईले आफ्नी आमाको स्मृतिमा स्थापना गरेका हुन् । 

दुवै पुरस्कार आयोजक संघका जिल्ला अध्यक्ष वसन्त राई, प्रमुख अतिथि एवं संघको केन्द्रीय उपाध्यक्ष विशाल राई, यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईलगायत अतिथि एवं दाताहरुले प्रदान गरेका थिए । सोही कार्यक्रममा भर्खरै असोज १५ गते असामयिक निधन भएका पत्रकार सञ्जिव कोयी राईप्रति श्रद्धाञ्जली प्रकट गर्दै मौन धारण पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं संघका केन्द्रीय उपाध्यक्ष राई, फोनिज युकेका सचिव अमित थेवे, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राई, क्रियाशिल महिला पत्रकार समुहकी अध्यक्ष मनिता चाम्लिङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।