धरान: केही दिनअघि परेको अबिरल बर्षासँगै आएको बाढीपहिरोका पीडितहरुलाई धरानमा ५ रुपैया अभियानबाट २ लाख ५७ हजार बढी रकम संकलन भएको छ ।

सामाजिक अभियन्ता एवं रास्वपा नेतृ सरिन तामाङ नेतृत्वमा भएको अभियानबाट कुल २ लाख ५७ हजार ४७९ रुपैया संकलन भएको हो । धराने नागरिकहरुको तर्फबाट भन्दै दुई दिन ५ रुपैया अभियान सञ्चालन भएको थियो । उक्त अभियानको क्रममा बक्सामा १ लाख २६ हजार ६७० रुपैया संकलन भएको सरिनले बताइन् । यस्तै, १ लाख ३० हजार ८०९ रुपैया भने अभियानको क्रममा नै आफ्नो खातामा क्युआरमार्फत प्राप्त भएको पनि उनले बताइन् ।

उनका अनुुसार बाढी पहिरोबाट पीडित भएकाहरुलाई धराने जनताहरुको माया स्वरुप अभियान शुरुवात भएको थियो । मात्र २ दिनमा यति धेरै सहयोग प्राप्त भएको र अभियान बन्द पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ठाकुर कार्कीका अनुसार समय छोटो भएको र निरन्तरको बर्षाले गर्दा बजार क्षेत्रमा मात्र सहयोग संकलन भएको थियो । कतिपयले ५ रुपैया भन्दा बढी स्वेच्छाले पनि सहयोग भएकोले यति धेरै रकम उठेको उनले बताए । 

संकलन भएको रकम गुड टिभीकी प्रबन्धक गंगा लामामार्फत बाढी पहिरो पीडितहरुसम्म पुर्याउने अभियानकर्ताहरुको भनाई छ । अभियानको नेतृत्वकर्ता सरिनका अनुसार सबैभन्दा बढी ललितपुर र काभ्रेमा क्षति पुगेको छ । उक्त रकम बराबर ती दुवै जिल्लाको लागि पठाइने पनि उनले बताइन् । ‘आवश्यक पर्ने ठाउँमा खाद्यान्न, लत्ताकपडाहरु जे चाहिएको हो, त्यो वितरण हुन्छ,’उनले भनिन् । 

भिडियो: