धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । 

ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो अवैध लागुऔषध गाँजा वरामद गरेको पनि जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय धरानमा आज बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सुमन तिम्सिनाले गाजा बोकेको गाडीलाई नियन्त्रणमा लिन इन्सास राइफलबाट ४ राउण्ड गोली प्रहर गर्नुपरेको जानकारी दिए । एसपी तिम्सिनाले सरकारी गाडीमा गाँजा ओसारपसार भइरहेको बिषयमा गहिरो अनुसन्धान गरेर पछि विस्तृत जानकारी दिने पनि बताए । 

sp sumna timsina

मंगलबार कोशी राजमार्गमा पर्ने धरान १३ अमरहाट स्थित त्रिवेणी चोकमा सवारीसाधन चेकजाँच भइरहदा धनकुटाबाट धरान आइरहेको बा १ झ ५१२७ नम्बरको टाटा कम्पनीको गाडी र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेटको स्कारर्पियो गाडीमा गाँजा लिएर आउदै गरेको सुचना प्रहरीले पाएको थियो । स्कारपियो गाडीलाई घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएपनि टाटाको गाडी भने धरान प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगुलाई नै ठक्कर दिन खोजेर भागेको थियो ।

त्यसक्रममा डिएसपी जबेगुले गोली हान्न आदेश दिएका थिए । चार राउण्ड गोली प्रहार गर्दा एक राउण्ड गोली गाडीको पछाडि रहेको सिसा भन्दा माथिल्लो भागमा लागेको थियो । उक्त गाडी करिब १५० मिटर तल भित्री बाटोमा पार्किङ गरेर चालक फरार भएको अवस्थामा भेटिएको डिएसपी जबेगुले जानकारी दिए । डिएसपी जबेगुका अनुसार उक्त गाडीको नम्बर प्लेट मन्त्रालय र अख्तियारको गाडी नम्बरसँग मिल्ने भएपनि अनुसन्धान पछि मात्र यथार्थ खुल्ने बताए । 

बा १ झ ५१२७ नम्बरको गाडीका चालक मोरङको सुन्दर हरैचा नगरपालिका ११ का ३६ बर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उक्त गाडीबाट ३६० केजी र अर्को बा १ झ ४६०५ नम्बरको स्कारर्पियोबाट ३३० केजी गरि कुल ६९० केजी अवैध लागुऔषध गाजा वरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 ६ हजार किलो बढी गाँजा वरामद

gaja dharan1

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमन तिम्सिनाका अनुसार चालु आर्थिक बर्ष २०८१/०८२ मा हालसम्म ६ हजार किलोभन्दा बढी गाँजा वरामद भैसकेको छ । 

धरानमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कुल ६ हजार १९७ किलो गाँजा चालु आर्थिक बर्षमा हालसम्म वरामद भैसकेको छ । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा कुल ५ हजार ५१ केजी २५० ग्राम गाँजा वरामद भएको यथयो भने २०७९/०८० मा २ हजार ४९ केजी ८०८ ग्राम गाँजा वरामद भएको थियो ।

लागुऔषधविरुद्ध अप्रेशन चलाएको सुनसरी प्रहरीले चालु आर्थिक बर्षमा २०८ ग्राम ६८१ मिलिग्राम ब्राउन सुगर वरामद गरिसकेको छ भने एम्पुल ५०, ट्याब्लेट १ लाख ६७ हजार ६८ वरामद गरिसकेको छ । यस्तै, क्याप्सुल ११ हजार ५११ र बोतल १८ वटा वरामद भएको पनि प्रहरीले जनाएको छ । वरामद भएको लागुऔषधको अन्दाजी मुल्य ४ करोड २५ लाख रहेको पनि सुनसरी प्रहरीले जनाएको छ ।

चालु बर्षमा लागुऔषधमा १७८ वटा मुद्दा दर्ता भएको छ भने हालसम्म २६२ जना पक्राउ परेका छन् । लागुओषध मुद्दामा ४६ वटा सवारीसाधन पक्राउ परेको पनि प्रहरीले जनाएको छ । यसैगरि, अदालतबाट फैसला भएको मुद्दाहरुमा फरार प्रतिवादीहरुलाई पनि धमाधम पक्राउ गरिएको एसपी तिम्सिनाले जानकारी दिए । उनका अनुसार मंसिर महिनामा मात्र फरार प्रतिवादीहरु ७४ जना पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ । यस आर्थिक बर्षमा हालसम्म १२० जना पक्राउ परेका छन् । कैद भुक्तानी ४६ बर्ष ६ महिना १० दिन भएको छ भने १८ लाख ९६ हजार ८८७ रुपैया राजश्व तथा जरीवाना संकलन भएको छ । 

भिडियो: