धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ ।
आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ बनाइदिएका हुन् । अहिले उनको स्वर्गीय बुबा आमाको नाम पनि थपेर विद्यालयको नाम जनता भगवती नन्द आधारभुत विद्यालय भएको छ ।
उक्त विद्यालयको शुक्रबार एक समारोहबीच धरानका मेयर हर्कराज राई (साम्पाङ) ले उद्घाटन गरेका थिए । विद्यालय परिसरमा दाताका आमा बुबाको अर्धकदको प्रतिमा पनि अनावरण गरिएको थियो । उक्त भवन लायन्स क्लब अफ धरान बुढासुब्बाकोको संयोजनमा निर्माण भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार राईले आफु करिब ४ महिना जति मात्र भएपनि २४ लाख भन्दा बढीको बजेट ल्याउन सफल भएको बताए । अग्रवाल परिवारबाट २१ लाखबाट नयाँ भवन बनेको र उपमेयर कोषबाट पनि ३ लाख रुपैयाको घेराबार गरिएको उनले बताए ।
मेयर साम्पाङले गुणस्तरीय शिक्षाको लागि स्थानीय सरकार गम्भीर रहेको र भौतिक पुर्वाधार निर्माणको लागि सहयोग गर्ने वचन दिदै निवेदन लिएर आउन आग्रह गरेका थिए । उपमेयर बेघाले पनि विद्यालयको पुर्वाधार विकासमा मेयर साम्पाङसँग आवश्यक परामर्श गर्ने बताए ।
ऐन, कानुनमा टेकेर शिक्षा महाशाखा, शिक्षा समिति, विज्ञहरुसँग आवश्यक परामर्श र समन्वय गरेर नाम परिवर्तनको प्रक्रिया अघि बढाएको विद्यालयले जनाएको छ । विद्यालयको भौतिक पुर्वाधार थप गर्न प्रयास भइरहेको तर सम्भव नभएको भन्दै प्रअ लामाले स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरे ।
दाता राजेश अग्रवालले आफ्ना जीजु हजुरबुबाबाट सामाजिक काम गर्ने प्रेरणा पाएको बताए । साथै, सोही समारोहमा दाता अग्रवाललका दाजु पवन अग्रवाल र अनय आफन्तजनहरुले विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरेका थिए । कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष पुनम राई लिम्बुको अध्यक्षतामा भएको थियो । दाताहरुलाई लायन्स क्लब अफ धरान बुढासुब्बा र विद्यालयबाट सम्मान पनि गरिएको थियो ।
भिडियो:
भिडियो:
भिडियो: