धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । 

गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको उल्लेख गर्दै कांग्रेसले धरानलाई महत्व दिएको जिकिर गरेका थिए । 

उनले पार्टीका नेताहरु एकसाथ मिलेर काम गरे धरानको महत्वलाई अझै माथि उठाउन र राम्रो बनाउन सक्ने पनि देउवाको भनाई थियो । धरानको समस्याहरुबारे जानकारी पाएको भन्दै उनले अझै खानेपानी समस्या छ भन्ने सुन्दा आश्चर्य लागेको पनि बताए । ‘धरानमा खानेपानी छैन भन्ने सुन्दा आश्चर्य पनि लाग्यो, यहि नजिकै नदी छ,’ उनले भने,‘पानीको व्यवस्थापन सबैले गर्नुपर्छ । यति राम्रो ठाउँ छ ।’

deuba1

अर्को प्रसंगमा देउवाले कांग्रेस पार्टीभित्र बोल्न र विरोध गर्न छुट भएपनि पार्टी एकता सबभन्दा महत्वपुर्ण भएको बताएका छन् । उनले पार्टीमा नेतृत्वको विरोध गर्दैमा कारबाही नहुने भन्दै कांग्रेस प्रजातान्त्रिक र जीवन्त पार्टी भएको बताए । 

‘हाम्रो पार्टीमा विरोध गर्न पाइन्छ, बोल्न पाइन्छ, त्यसो गर्दैमा हाम्रोमा केही हुदैन,’उनले भने,‘तपाईहरुले मेरो विरोध गर्नुभएको भए रामै हुन्थ्यो, आफ्नो कुरा राख्न पाइन्छ । चित्त नबुझेको कुरा बोल्न पाइन्छ । तर पार्टी एकता सबभन्दा महत्वपुर्ण कुरा हो ।’

सभापति देउवाले मतभेद जे जस्तो भएपनि चुनावको बेला जसले टिकट पाएपनि जिताउन सघाउनुपर्ने बताए । आकांक्षी धेरै भएपनि एक जनाले मात्र टिकट पाउने भन्दै उनले नपाउनेले सहयोग गर्दा अर्कोपटक पाउने पनि बताए । ‘एकजुट भएर हिडेको खण्डमा चुनावको बेला मात्र होइन, धरानमा सधै कांग्रेसको जित हुन्छ,’उनले भने ।

deuba2

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, नेता रामशरण महत, उमेश श्रेष्ठ, भीष्म आङ्देङ्बे, ज्ञानेन्द्रबहादुर कार्की, डिला संग्रौला, राजीव कोइरालालगायत नेताहरुले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा अग्रज पत्रकार गिरीराज आचार्यद्धारा लिखित वी.पी.का साहित्यिक विचारहरु नामक पुस्तकको तेस्रो सँस्करण विमोचन पनि गरिएको थियो । सोही कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बालाई नगद २५ हजारसहित गिरिराज आचार्य सृर्जनशिल पत्रकारिता सम्मान र विनय प्रधानलाई नगद २० हजारसहित गिरिराज आचार्य सृर्जनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।