धरान: मृगौलाका बिरामी भएका नृत्य प्रशिक्षण एवं कलाकार हेमराज गजमेरलाई धरान नृत्यकला प्रतिष्ठानले सहयोग रकम हस्तान्तरण गरेको छ । 

दुवै मृगौला फेल भएकोले गजमेरको मृगौला प्रत्यारोपण गर्नुपर्नेछ । उनको हाल काठमाडौँको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । धरान वडा १५ घर भई भएका गजमेरलाई सहयोगको लागी प्रतिष्ठानले आर्थिक सहयोग अभियान चलाएको थियो । उनी काठमाडौँमा नृत्य प्रशिक्षक छन् ।

मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएको जानकारी पाएपछि नृत्यकला प्रतिष्ठानले सहयोग जुटाउन अभियान संचालन गरेको थियो। प्रतिष्ठानले ३ दिनसम्म अभियान चलाएर ६६ हजार ६ सय ७० रुपैया संकलन गरेको थियो । सोही रकम प्रतिष्ठानले गजमेरलाई प्रदान गरेको हो । कलाकारले कलाकारको मर्म र भावनालाई बुझ्नुपर्छ भनेर सहयोग अभियान सञ्चालन गरेको पनि प्रतिष्ठानका अध्यक्ष नन्द राईले जानकारी दिए ।