धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खोज पत्रकारिता केन्द्रको लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाल र पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईलाई धम्की दिएको विरोधमा सात राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
दलहरुले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकार दाहाल र राईलाई सामाजिक सञ्जालबाट धम्काएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । यो गम्भीर बिषयमा धरानका राजनीतिक दलहरु टुलुटुल हेरेर बस्न नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
समाचारमा चित्त नबुझे सो छानबिन र सत्यतथ्य बुझ्न प्रेस काउन्सिल नेपाल, सञ्चार मन्त्रालयजस्ता सरोकारवाला निकायहरु भएपनि स्थानीय सरकार प्रमुख जस्तो व्यक्तिहरुले समाचार लेखेकै भरमा धम्काउने, थर्काउने र आफ्ना समर्थकहरुबाट तल्लोस्तरको धम्की दिन लगाउने जस्ता अमानवीय, घृणित र संविधान विपरीत कार्य गरेको भन्दै दलहरुले घोर निन्दा र भत्र्सना गरेका छन् ।
‘मुलुकका हरेक परिर्वतनका आन्दोलनमा अग्रपंक्तिमा रहने सञ्चारकर्मीहरुलाई तेजोबध गरेको राजनीतिक दलहरुलाई पाच्य हुदैन,’विज्ञप्तीमा भनिएको छ,‘तसर्थ धरान उपमहानगरपालिकाको नेतृत्वलाई आफ्नो कार्यकाल भरि होस नगुमाईकन पदीय मर्यादामा रही कार्य गर्न समेत हामी सचेत गराउदछौं ।’ यस्ता धाकधम्कीबाट विचलित नभै सत्य तथ्य समाचार प्रकाशनमा गर्न आग्रह गर्दै दलहरु सधै पत्रकारहरुको साथमा रहने पनि विश्वास दिलाएका छन् ।
विज्ञप्तीमा एमाले अध्यक्ष हर्कजङ एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अर्जुन खड्का र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले हस्तक्षर गरेका छन् ।


 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



