धरान: तामाङ समुदायले बिहिबार धरानसहित देशभर धुमधामले आफ्नो पर्व सोनाम ल्होछार (नयाँ बर्ष) २८६१ मनाएका छन् ।
सोनाम ल्होछारको अवसरमा बिहिबार धरानका तामाङ समुदायले पनि विविध कार्यक्रम गरि मनाए । भानुचोकको ट्यांक्सी पार्किङ क्षेत्रमा आयोजित कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु मौलिक भेषभेषुमा सहभागी भएका थिए । नेपाल तामाङ घेदुङ धरान उपमहानगरपालिका कार्यसमितिको आयोजनामा भएको कार्यक्रम औपचारिकरुपमा शुरु हुनुअघि वृहत र्याली निस्किएको थियो ।
आयोजक समितिका अध्यक्ष सपन कुमार योञ्जन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामा, बिशिष्ट अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा, घेदुङका पुर्वमहासचिव काजीमान तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साँस्कृतिक तथा सांगीतिक प्रस्तुती भएको कार्यक्रममा घेदुङका विभिन्न वडा कार्यसमितिहरुबीच तामाङ सेलो नृत्य प्रस्तुती प्रतियोगिता पनि आयोजना भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय तामाङ कलाकारहरुले गीत प्रस्तुती पनि गरेका थिए ।