झापा: प्रहरीले झापाको कनकाई नगरपालिका ४ बाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले मंगलबार बेलुकी करिब साढे ६ बजे गोली प्रहार गरेर २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार विशेष सुचनाको आधारमा कनकाई नगरपालिका ४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचमा कडाई गरेको थियो । सोही क्रममा २ जना सवार रहेको BR37AA8498 नम्बरको मोटरसाइकल रोक्न खोज्दा नरोकी भगाएपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
खुट्टामा गोली लागेर मोटरसाइकल चालक भारत बिहार डिगल बैंकका २८ बर्षीय अन्जर आलम घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । यस्तै, मोटरसाइकलमा पछाडि सवार उनको भाई युसुब आलम प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर वरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट गाँजा बोकेको कार नियन्त्रणमा
प्रहरीले धरान १७ बाट गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । आज बिहान करिब ५ बजे लागुऔषध ओसारपसार भइरहेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले विष्णुपादुका जाने सर्दु खोलाको पुल नजिकबाट कार निण्न्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रहरी टोलीले सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकेर राखेको बा.९ च १७६८ नम्वरको कार भेटेको थियो । उक्त कारलाई शंका लागेर चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गाँजा बरामद भएसंगै उक्त कारलाई नियन्त्रणमा लिएर ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्य र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगर सहित ४ जना पक्राउ
सुनसरीको कोशीगाउँपालिका १ र भोक्राहा नरसिंह गाउँपालिका ३ बाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।
हिजो मंगलबार लागूऔषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ४ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रामधुनी नगरपालिका ३ का २३ बर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यस्तै, सप्तरी कन्चनरुप नगरपालिका ७ का २२ बर्षीय बिजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याव्लेट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरि, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका १० का २४ बर्षीय रोहित मंडललाई २ ग्राम ४१० मिलिग्राम र उदयपुर रौतामाई ७ का २८ बर्षीय पदम बहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ। लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।