धरान: नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति धरान १८ को नयाँ गुम्बा निर्माण गरिने भएको छ ।
करिब ३४ बर्षअघि निर्माण गरिएको गुम्बा जीर्ण हुदै गएपछि समितिले नयाँ गुम्बा निर्माण गर्न लागेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै रहेको यो गुम्बा गुरुङ समुदायको गुम्बाकोरुपमा परिचित छ । गुम्बा निर्माणस्थलमा मंगलबार बौद्ध गुरु र मेयर हर्कराज राई (साम्पाङ)ले संयुक्तरुपमा पुजा गरेर शिलान्यास गरिएको थियो ।
शिलान्यास पश्चात मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै गुम्बाअघिको चोकमा बुद्धको प्रतिमा निर्माण गर्ने बताए । उनले खानेपानीसहित आफु साना तिना जनताको समस्या उठान गरेर मेयरको पदमा निवार्चित भएको भन्दै आफु तिनै साना समस्याहरुलाई समाधान गर्न लागिपरेको बताए । धरान जनसहभागिताको सहर भएकोले उल्लेख गर्दे उनले गुम्बा निर्माणमा आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउदै जनसहभागिताबाट गुम्बा निर्माण हुने अपेक्षा व्यक्त गरे ।
यो गुम्बा २०४७ सालमा निर्माण सम्पन्न भएर पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीबाट उद्घाटन गरिएको थियो । गुम्बा निर्माण समितिका सचिव भोला गुरुङका अनुसार पटक पटकको भुकम्पले गुम्बालाई क्षति पुर्याएकोले नयाँ बनाउनुपर्ने बाध्यता भएको हो । पुरानो गुम्बाको संरचना पिलर विना भएकोले पनि समयको माग अनुसार नयाँ र भव्य गुम्बा बनाउन लागिएको उनले बताए । नयाँ गुम्बा बनाउने पैसा संकलन भइसकेपछि गुम्बा भित्रको मुर्तिहरुलाई अस्थायी संरचनामा सार्ने र पुरानो गुम्बा भत्काएर नयाँ निर्माण गरिने पनि उनले जानकारी दिए ।
नयाँ गुम्बा २ तलाको बन्नेछ भने पुर्व फर्किएको गुम्बा बन्नेछ । हालको गुम्बा पश्चिम फर्किएको छ । गुम्बा प्रवेश गर्ने हालको गेट बन्द गरेर पुर्वतर्फ सारिने पनि सचिव गुरुङले बताए । नयाँ बन्ने गुम्बाको लागत ५ करोड हाराहारी अनुमान रहेको पनि उनले बताए । गुम्बा निमार्ण गर्न सरकारको बजेट हालसम्म सुनिश्चित नभएको र घरधुरी गुरुङ परिवारबाट सहयोग जुटाउने योजना रहेको उनले बताए । उनले भने,‘घरधुरी सहयोग उठाउन पुग्नेछौ, सरकारबाट पनि बजेट ल्याउन प्रयत्न गर्नेछौं ।’ समितिमा ७ सय घर आवद्ध भएपछि धरानमा १२ सय घरधुरीको हाराहारीमा गुरुङहरुको बसोबास रहेको अनुमान छ ।
भिडियो: