धरान: प्रहरीको गस्ती टोलीले धरान उपमहानगरपालिका वडा नं ३ माछाभौडीबाट एक महिलासहित ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
गए राती (सोमबार) करिब १० बजे वडा प्रहरी कार्यालय धरानको गस्ती टोलीले पुरानो बजारबाट रत्नचोक जादै गरेको को. २० प. ४८१६ नम्बरको स्कुटर चेकजाँच गर्दा लागुऔषध वरामद भएको थियो । लागुऔषध वरामद भएपछि प्रहरीले स्कुटी चालक धरान १० का २७ बर्षीय बिनय देवान, स्कुटीमा पछाडि सवार धरान १६ का २८ बर्षीय कुविर श्रेष्ठ र धरान १० की ३५ की सृजना गुरुङलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
उनीहरुको साथबाट लागूऔषध ट्रामामोल ५ सय ट्याब्लेट, प्रतिबन्धित औषधी डिकोलिक ५ सय ट्याब्लेट फेला परेको थियो । वरामद भएको लागूऔषध र स्कुटरसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।