धरान: धरान उपमहानगरपालिका र वडा नं १ ले विजुली र नेपाल टेलिकमको पोलमा इन्टरनेट सेवा प्रदायकहरुले कुरुप देखिने गरि राखेको तारहरु व्यवस्थित गर्न थालेको छ ।

जथाभावि टागिएका तारहरु व्यवस्थित गर्न आग्रह गर्दा अटेर गरेमा उपमहानगरपालिकासँग समन्वय गरि काट्न शुरु गरेपछि सेवा प्रदायक कम्पनीहरु आफैले तारहरु व्यवस्थापन गर्न थालेको हो । वडा नं १ का वडा सदस्य उज्वल बास्तोलाका अनुसार रेडक्रस चोकदेखि दक्षिणतर्फको पुरानो बजार क्षेत्रको सडकमा तारहरुलाई व्यवस्थापन गर्न शुरु गरिएको छ । करिब डेढ महिनादेखि तार व्यवस्थापन गर्न पत्राचार गरेपनि कम्पनीहरु नआएपछि मेयर हर्क साम्पाङसँग कुरा गरेर काट्न थालेपछि मात्र व्यवस्थापन गर्न थालेको जानकारी दिए ।

उपभोक्ताको घरमा लगेको तार धेरै खरीद गर्न लगाएर जुगुल्टाएर पोलमा राख्ने र उपभोक्ताले कम्पनी परिवर्तन गरेमा उक्त तार ननिकाल्ने गरेकोले कुरुप देखिएको बास्तोलाको भनाई छ । ‘बुधबारदेखि व्यवस्थापन कार्य शुरु भएको हो । पहिला कुरुप देखिन्थ्यो, अहिले तार व्यवस्थापन गर्न थालेपछि सुन्दर देखिएको छ,’ उनले भने ।

internet tar1

पोलमा दुरसञ्चार र इन्टरनेटको अत्यधिक तार भेटिएको वडा १ का अध्यक्ष यज्ञमणी आचार्यले बताए । कम्पनीहरुले उपभोक्ताले सेवा लिन छोडेपनि तार पोलमै छोड्ने गरेको कारण समस्या देखिएको पनि उनले बताए । ‘अब एकलाईनबाट मात्र तार जान्छ, पहिला जस्तो सडकमा क्रस गरेर लैजान दिइदैन,’उनले भने,‘पुरानो बजारतर्फको तार व्यवस्थापन गरेपछि नयाँ बजार र सहायक बाटोमा पनि व्यवस्थापन गर्न लगाउछौं ।’ तार धेरै भार भएर लच्किने र चुडिएर लत्रिएको तारमा अल्झिएर मोटरसाइकल चालकहरु दुर्घटनामा घाइते पनि भएको उनले बताए । 

नेपाल टेलिकम धरानका टेक्निकल फिल्ड इञ्चार्ज शिव धमलाले वडा १ ले तार व्यवस्थापन गर्ने सुचना जारी गरेकोले पुरानो तारहरुलाई हटाएर सौन्र्दयीकरण गर्न लागिपरेको बताए । वडा समिति र टेलिकमको समन्वयमा निजी इन्टरनेट सेवा प्रदायकलाई पनि टेलिकमको मापदण्डमा मात्र तार राख्न लागएको उनले बताए । 

भिडियो: