धरान: कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी राज्यमन्त्री सृजना राईले आगामी निर्वाचनमा राजनीतिक दलहरुबाट प्रमुख पदमा महिलाहरुलाई उम्मेद्वार उम्मेद्वार बनाएर जिताउनुपर्ने बताएकी छन् ।
११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा ७३ औं अनेम संघको स्थापना दिवसको अवसरमा शनिबार धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राईले यस्तो बताएकी हुन् । अनेम संघ क्षेत्र नं १ कमिटी सुनसरी र अनेम संघ नगर कमिटिले संयुक्तरुपमा आयोजना गरेको श्रमिक महिलाहरुको सवालमा अन्तरक्रिया र अग्रज महिलाहरुलाई सम्मान कार्यक्रममा सहभागी हुन राज्यमन्त्री धरान आएकी थिइन् ।
एमाले धरानको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं अनेमसंघ प्रदेश सदस्यसमेत रहेकी राईले महिलाहरुलाई राजनैनिकरुप स्थापित गर्न पार्टीले जिम्मा लिनु पर्नेमा जोडदिईन् । उनले आगामी ०८४ को निर्वाचनमा प्रमुख पदमा महिलाहरुलाई उठाउन सक्ने वातावरण बनाउनुपर्ने धारणा राख्दै भनिन्, 'उम्मेदवारलाई जिताउने जिम्मेवारी पार्टीले लिनुपर्छ । पार्टीले टिकट दिई सकेपछि कोही उम्मेदवार व्यक्तिको हुदैन, उ पार्टीको हुन्छ । अघिल्लो चुनावको परिणा फेरि नदोरियोस् ।'
राज्यमन्त्री राईले अबका दिनमा वडा, नगर, प्रदेश र संघको प्रमुख पदमा महिला निवार्चित हुनुपर्ने बताइन् । साथै उनले देशको प्रधानमन्त्री पनि महिला हुनुपर्नेमा जोडदिइन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पृष्ठभूमि जोड्दै राज्यमन्त्री राईले संयुक्त राज्य अमेरिकाबाट शुरु भएको श्रमिक महिला आन्दोलन सफल भएर दिवसको रुपमा मनाउन पाइरहेको बताइन् ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रमेश बस्नेतलेअनेम संघले नै नारी शब्द हटाएर सम्मानजनक शब्द महिला राखेर कार्यक्रम गरेको स्मरण गराएका थिए। नारी दिवसलाई परिमार्जन गर्दै श्रमिक महिला दिवस भनी देशभरी नै मनाउदै आएको उनको भनाई थियो । साथै, स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने अधिकार भएता पनि ३३ प्रतिशत मात्रै रहेको उनले बताए । अगामी निर्वाचनमा अधिक्तम महिला उम्मेदवार बनाएर जिताउन र ५० प्रतिशत महिलाको सख्या बढाउन सबै लाग्नुपर्ने उनको भनाई थियो ।
अनेम संघ केन्द्रीय कमिटी सदस्य सुशिला पहाडीले संघको पृष्ठभूमि साथै महिला आन्दोलनका बारेमा मन्तव्य राखिन् । एमाले नगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङले महिलाहरुलाई अगाडि बढन् सक्ने वातावरण बनाउन पार्टीले काम गरिरहेको बताए । पार्टीले दिएको जिम्मेवारी पूरा गरि कुशल नेतृत्व दिदै समाजमा उल्लेख्यनिय काम गर्न सक्ने महिला जनप्रतिनिधिलाई पार्टीले उच्चमुल्याकन गर्ने पनि उनले बताए ।
धरान उपमहानगरपालिका संसदीय दलका नेता एवं वडा नं १५ का अध्यक्ष नरेश ईवारमले महिलाहरु हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । श्रमिक महिलाहरुको तर्फबाट ई रिक्सा संचालक रिना लामाले ईरिक्सा चलाउन लाईसेन्स अनिवार्य गर्ने सरकारको नितीले धेरै चालकहरु बेरोजगार हुने समस्या रहेको सुनाइन्। अधिकास चालकहरु निराक्षर भएको, केही शारीरिक अपाङ्गता भएकाहरुले पनि सफारी चलाएर परिवार पालिरहेको तर लाईसेन्स बनाउने नीति आएमा धेरै बेरोजगार हुने उनको भनाई थियो । सरसफाइ कर्मचारीको तर्फबाट यमकला मग्रातीले काम गर्ने स्थानमा श्रमिक महिला दिवसको दिन सार्वजनिक बिदा नपाउने गुनासो राखिन् ।
महिलाहरुलाई सम्मान
कार्यक्रममा अग्रज महिला र समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान गरिएको थियो । स्वास्थ्य क्षेत्रमा योगदन दिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेट्रोन कला थापालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरि, सरसफाइको क्षेत्रका कर्मचारीहरुलाई संगठित र आफ्ना अधिकारका लागि लडिराख्ने यमकला मग्रातीलाई पनि सम्मान गरिएको थियो ।
यस्तै, बामपंथी आन्दोलनका योद्धाहरुलाई सेल्टर दिने बराहक्षेत्रका दिपा कट्टेल र रामधुनी नगरपालिकाका सामाजिक अभियन्ता मिना चौधरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि राई, एमाले केन्द्रिय कमिटी सदस्य मन्जु भण्डारी, एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद रमेश बस्नेत, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रदेश सांसद यशोदा कायस्थले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य अनेम संघ नगर अध्यक्ष कल्पना शेर्पा र क्षेत्री कमिटी अध्यक्ष सविता राईले कार्यक्रम माथि प्रकाश परेकी थिइन् । कार्यक्रममा अनेम संघको ७३ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथि राईबाट केक पनि काटिएको थियो साथै साझमा पार्टी कार्यालय परिसरमा दिप प्रज्वलन पनि गरेको क्षेत्रीय कमिटी अध्यक्ष राईले जानकारी दिइन् ।