धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्त्री तथा प्रसुती रोग विभागमा भर्ना भएकी सविना प्रधानको गर्भमा जुम्ल्याहा बच्चा मृत्यु भएको घटनामा छानबिन उपसमिति गठन भएको छ । 

पीडित परिवार र अस्पताल प्रशासनबीच आज (आइतबार) बिहानदेखि भएको छलफलमा छानबिन उपसमिति गठन गर्नेलगायत ४ बुँदे सहमति भएको हो । छलफलमा उक्त घटनाबारे दुई पक्षसँग लिखित बयान लिई घटनाबारे सत्यतथ्य बुझी राय सुझावसहितको प्रतिवेदन यथासम्भव छिट्टै पेश गर्ने निर्णय भएको छ ।

सोही निर्णय वमोजिम प्रतिष्ठानले एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर विभागका डा.सिद्धार्थ कोइराला संयोजक रहेको ९ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । समितिमा स्त्री तथा प्रसुती रोग विभागका एक जना चिकित्सक, बाल रोग विभागका एक चिकित्सक, सर्जरी विभागका डा.अभिजित कुमार र नर्सिङ अफिसका मेट्रोन पनि सदस्य रहेका छन् । यस्तै, पीडित पक्षबाट प्रेमकुमार श्रेष्ठ, मैयादेवी श्रेष्ठ, सुन्दर श्रेष्ठ र ललित श्रेष्ठ पनि सदस्य राखिएको छ । 

यसैगरि, विरामी सविना प्रधान र उनका श्रीमान् बिक्रम श्रेष्ठको प्रतिष्ठानमा उपचारको लागि आएमा प्रतिष्ठानमा उपलब्ध उपचार सेवाहरु आजिवन निःशुल्क गराउन समितिबाट सिफारिश गर्ने पनि छलफलमा निर्णय भएको छ । यस्तै, सविनाको उपचारको क्रममा जन्मेका मृत बच्चाहरु प्रतिष्ठानको मर्चरीबाट पीडित पक्षले जिम्मा लिने पनि सहमति भएको छ । साथै, सविनाको उपचारको क्रममा प्रतिष्ठानमा लागेको उपचार शुल्क प्रतिष्ठानले व्यहोर्ने गरि फिर्ता हुनका लागि समितिबाट सिफारिश गर्ने पनि निर्णय उक्त छलफलमा भएको छ । 

शुक्रबार प्रतिष्ठानमा भर्ना भएकी गर्भवती सविनाको उपचारको क्रममा शनिबार पेटभित्रै एउटा बच्चाको मृत्यु भएको थियो भने अर्को बच्चा अप्रेशन गरेर हेर्दा मृत भएको अस्पताल प्रशासनको भनाई छ । उक्त घटनामा लापरवाही भएको भन्दै पीडित पक्षले आवाज उठाए पछि आइतबार बिहान छलफल गरेर छानबिन समिति गठन गर्ने शुक्रबार नै सहमति भएको थियो । 

bp agreement copy