विराटनगर: झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाको विभिन्न ठाउँबाट आइतबार प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी पोष्ट धरान १४ विजयपुरबाट खटिएको प्रहरी टोलीले एक युवतीलाई लागुऔषध र प्रतिबन्धित औषधीसहित प्रहरीले नियन्त्रणमा लिएकोछ । धरान १४ की १८ बर्षीया आकृती परियारलाई उनकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । 

यस्तै, सुनसरीको ईनरुवा नगरपालिका ९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका ६ का ३५ बर्षीय युवराज कटुवाल पनि पक्राउ परेको छ । बिराटनगर १६ स्थित ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैगरि, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुको संयुक्त टोलीले १५ किलो गाँजा वरामद गरेको छ । बेलका नगरपालिका ८ आराङ्गास्थित भित्रि सडकखण्डमा जेब्रा झोलामा बेबारिसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरि, झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका २ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । 

यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट कमल गाउँपालिका ४ का ३८ बर्षीय संयोग बस्नेत र दमक ८ का ३४ बर्षीय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।