धरान: प्रहरीले धरानबाट लागुऔषध कारोबारमा संलग्नसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राती धरान ११ स्थित गैरीगाँउबाट १८ बर्षीय सुदिप राईलाई नियन्त्रणमा लिएको हो । लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा उनलाई अस्थाई प्रहरी पोष्ट जोरसखुवाको टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ । 

सुदिपलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा घारीमा लुकाई राखेको अवस्थामा नियन्त्रित क्याप्सुल कोलिवन ८०५ र लागूऔषध ट्रामाडोल ८०५  गरी कुल १६१० क्याप्सुल वरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ । 

यसैगरि, शनिबार साँझ करिब ६ बजे धरान वडा नं ९ बाट ४ जना लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वडा ९ बगैंचा लाईनमा शारदा राईको घरमा डेरा गरी बस्ने विजय साहको कोठामा लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 

वडा प्रहरी कार्यालय धरानको टोलीले लागुऔषध कारोबार गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ३० बर्षीय विजय साह, २७ बर्षीय निरन्जन यादव, धरान वडा नं १० का २५ बर्षीय विशेष राई र वडा १७ का २६ बर्षीय निश्चल राई पक्राउ परेका छन् । 

उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० ट्याब्लेट, ट्रामाडोल १४४० क्याप्सुल, स्कुफ ७ बोतल र नाइट्राजिपाम ७५ ट्याब्लेट वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।