धरान: गएको सोमबार बिहान धरान वडा नं ६ पानवारीस्थित पाँचकन्या वनमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । 

मृतकका माइती र श्रीमान् दुवै तर्फबाट आफन्तजनहरु हिजो (बुधबार) प्रहरीको सम्पर्कमा आएर लाशको सनाखत गरेका हुन् । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार मृतक धनकुटाको महालक्ष्मी नगरपालिका १ की ३३ बर्षीय चुनकुमारी (चुनिला) बुढाथोकी हुन् । लाशको सनाखत भएकोले प्रहरीलाई अनुसन्धान अघि बढाउन धेरै सहज भएको पनि एसपी तिम्सिनाले बताए । ‘मृतकका आफन्तजन आएर सनाखत गरेपछि अनुसन्धान सहजढंगले अघि बढेको छ,’ उनले भने ।

मृतकको माइती घर धनकुटाको महालक्ष्मी १ हो भने श्रीमानको घर वडा नं २ हो । उनका श्रीमान् प्रेम बुढाथोकी वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । उनी कोरिया गएको ५ बर्षपछि गत पुषमा करिब एक महिना विदामा आएको र पुनः कोरिया नै फर्किएको परिवारजनले जानकारी दिएको छ । मृतक करिब डेढ बर्षदेखि इटहरीको हलगडामा छोरासँग डेरामा बस्दै आएका थिए । 

मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए । 

कान्छा भाई दिलबहादुर दाहालका अनुसार हिजो दिउँसो मात्र कोरियाबाट प्रेमले ४ दिनदेखि श्रीमति चुनकुमारी सम्पर्कविहिन भएको जानकारी गराएका थिए । त्यसपछि मात्र सामाजिक सञ्जाल र समाचारमा आएको तस्बिर दिदीको हो कि भनेर हेरेको उनले बताए । ‘अहिले त हामीले फोन गर्दा पनि सम्पर्कमा आउनुभएको छैन । उहाँलाई पनि नेपाल झिकाएर अनुसन्धान होस् भन्ने माग गछौं,’उनले भने। 

माइती पक्षका अनुसार प्रेम र चुनिलाको मागी विवाह भएको थियो । विवाह भएको केही बर्ष राम्रो नै भएपनि विस्तारै सम्बन्ध चिसिदै गएको उनीहरुको भनाई छ । अझ प्रेम कोरिया गएपछि श्रीमतिसँग पनि उनको राम्रो नभएको माइती पक्षले बताएको छ । घटनाको गहिरो अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही नभए शव जिम्मा नलिने पनि उनीहरुको भनाई छ । 

मृतककी दिदी सावित्रा भण्डारीले अहिले ज्वाईलाई फोन गर्दा पनि नउठाएको बताइन् । कोरियामा ज्वाईसँगै काम गर्ने साथी घर आएको र उसले सम्पर्क गरेर कुरा गर्दा डिउटी हिडेको केटा भनेको पनि उनले सुनाइन् । 'यहाँ श्रीमति यस्तो भएको छ, उसलाई चासो नै छैन । छुट्टीमा घर आएको साथीले फोन गर्दा डिउटी हिडेको केटा भन्यो रे,' उनले भनिन् । 

मृतकका ससुरा सुर्यबहादुर बुढाथोकीले पनि हिजो मात्र छोराले कोरियाबाट फोन गरेपछि बुहारी हराएको थाह पाएको बताए । ‘हिजो मात्र थाह भयो, छोराले बुहारीको फोन लागेको छैन भन्यो,’उनले भने,‘त्यसपछि खोज्नुपर्छ भनेर आयौं । अनि धरानको जंगलमा वेवारिसे लाश छ भन्ने समाचार आएको छ भनेर हेर्दा बुहारीकै देखियो । यहाँ आएर हेर्दा कन्फर्म बुहारी नै हो ।’

परिवारसँग नराम्रो नभएको उनले दाबी गरे । ‘श्रीमान श्रीमतिको आन्तरिक के थियो थाह भएन, बुहारी र हामी नराम्रो थिएनौं । नाती पढाउन बाहिरै बस्थ्यो,’ उनले भने । 


भिडियो:

भिडियो: