धरान: फुटबल खेल्न गएका धरान १६ का एक युवाको शनिबार निधन भएको छ ।

जोरसखुवा चोक नजिकै पुलचोकस्थित खेल मैदानमा फुटबल अभ्यास गर्न पुगेका ३७ बर्षीय अनुपम गुरुङको शनिबार अपराह्न करिब ५ बजे एक्कासी निधन भएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले फुटबल खेल्न गएका गुरुङ बसिरहेको स्थानमा नै ढलेको भन्ने जानकारी आएको बताए । उनले भने, 'खेल्दा खेल्दैको अवस्थामा होइन, खेल्दिन भनेर बसिरहेको अवस्थामा बसेको बसेकै भएको रहेछ ।' यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

सोही मैदानमा फुटबल अभ्यास गर्ने रिजन गदालका अनुसार बल सुट गर्ने अभ्यास गरिरहेको बेला अनुपमले रिगटा लाग्यो भनेर मैदान छोडेका थिए । उनी ढुंगामा बसेर घरबाट आफैले बोकेर ल्याएको पानी पिएका थिए । आफुहरु अभ्यास गरिहेको बेला बसेकै ठाउँमा अनुपम ढलेको देखेपछि नजिकै रहेको जोरसखुवा प्रहरी बिट र परिवारलाई खबर गरेको उनले जानकारी दिए ।

'दाई (मृतक) फिटनेसको लागि फुटबल खेल्न दैनिक आउनुहुन्थ्यो, आज चै बल हान्दै हुनुहुन्थ्यो, रिगटा चल्यो भनेर पर ढुंगामा बस्नुभयो,' गदालले भने, 'हामी त खेल्दै थियौं । दाईले पानी पिएपछि एक्कासी लडेको देख्यौं । वडा सदस्य पनि हामीसँगै हुनुहुन्थ्यो । उहाँले नै प्रहरीमा खबर गर्नुभयो । आमाबुबा पनि आउनुभयो, र टेम्पोमा हालेर अस्पताल लगेको हो ।'