धरान: यही बैशाख ११ (बिहिबार) र १२ (शुक्रबार) हुन लागेको धरान रोजगार मेला २०८२ मा एक हजार बढीले विभिन्न संघसंस्थाहरुबाट रोजगारीको अवसर पाउने भएको छ ।

आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौगालाईका अनुसार कम्प्युटर अपरेटरदेखि लेखापाल, कुक, वेटर, पिसिएल नर्स, एएनएम, सिएमए, शिक्षक, फ्याक्ट्री मजदुर, हाउस किपिङ, मार्केटिङ एजेन्ट, मार्केटिङ मेनेजर, चालक, सुरक्षा गार्डलगायत २२ प्रकारका रोजागरीको आवश्यकता प्राप्त भएको छ । 

मेलामा १०७८ जनाको आवश्यकता प्राप्त भएपनि कम्तीमा ५ सय युवा जनशक्तिले रोजगारी पाउने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए । ‘आवश्यकता धेरै नै छ तर सुचीकृत भएका बेरोजगार युवाहरुको योग्यता, क्षमताको आधारले पनि काम पाउने, नपाउने निर्धारण हुन्छ,’उनले भने,‘त्यसैले हाम्रो लक्ष्य कम्तीमा ५ सयले रोजगार पाउछन् भन्ने हो ।’

दुई दिने धरान रोजगार मेला बिहिबार र शुक्रबार धरान १२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा हुदैछ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा हुने मेला बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म हुने उपमहानगरको भनाई छ । रोजगार मेलामार्फत १५८२ जनाले फारम भनेर दर्ता भएका छन् भने श्रमसंसार वेब पोर्टलमार्फत ११३१ जना व्यक्तिहरुले आफैलाई दर्ता गरिसकेको पनि उपमहानगरपालिकाले जानकारी दिएको छ । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सुचना प्रणालीमा हालसम्म ५३५ जना लाभार्थीहरु दर्ता भएका छन् । ‘हालसम्म यी ३ माध्यमबाट ३२४८ जना बेरोजगारको सुचीमा दर्ता भएका छन्,’ निरौलाले भने ।

rojgar mela1

मेलामा विभिन्न ३१ वटा स्टल रहने रोजगार कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिइन् । उनका अनुसार विभिन्न रोजगारदाता संघसंस्थाहरुको स्टल हुनेछ । सुचीकृत भएका बेरोजगार जनशक्तिहरु आफ्नो क्षमता, योग्यता अनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्नेछन् । ‘मेला अवधिमा नै रोजगारी पाउनसक्छन् । रोजगारदाताले आफुलाई चाहिने जनशक्तिको छनौट प्रक्रिया त्यही गर्छन्, र उचित लागेको व्यक्तिसँग लिखित सम्झौता गरेर लिन्छन्,’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने । 

सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार रोजगारदाताले कर्मचारी तथा कामदार लिएपछि श्रम ऐनले तोके वमोजिम नै सेवा सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । यद्यपी, चाडपर्व विदाको बिषयमा भने कहिले पाउने भनेर रोजगारदाता र कामदारबीच आपसी समझदारी गरेर अघि बढ्ने पनि उनले खुलाए । ‘कमदारले पाउने सेवा सुविधा श्रम ऐन वमोजिम नै हुन्छ, त्यसमा तलमाथि हुदैन,’उनले भने ।