धरान: नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को प्रादेशिक कार्यालयको भवन धरान १७ मा निर्माण हुने भएको छ ।
उपमहानगरपालिकाको संरक्षणमा रहेको सप्तरंगी पार्कसँगैको जग्गामा मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ) भवनको शिलान्यास गरेका थिए । मेयर साम्पाङको पहलमा यसअघि नै धरानमा नाष्टको कार्यालय स्थापना भइसकेको छ । तर आफ्नै भवन नहुँदा हालसम्म नाष्टको कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ । उक्त भवनको भाडा उपमहानगरपालिकाले व्यहोरिरहेको मेयर साम्पाङले शिलान्यास कार्यक्रममा जानकारी दिए ।
मेयर साम्पाङले उपमहानगरले सधै भाडा तिरेर राख्न हुदैन भनेर भवन बनाउन पहल भएको बताए । यसको लागि प्रदेश र केन्द्र सरकारको पनि बजेटको खाँचो रहेको उनले बताए । ‘मैले प्रदेशको शिक्षामन्त्रीलाई पनि कुरा राखेको छुँ, नगरले मात्र बनाउन सम्भव छैन । बहुबर्षिय योजनामा राखेर भवन बन्नेछ,’मेयर साम्पाङले भने,‘विगतमा धरानबाट धेरै कार्यालयहरु सरेर गए, अहिले एउटा प्रदेशस्तरको कार्यालय ल्याउन सफल भएका छौं । यो पनि उपलब्धी नै हो ।’
मेयर साम्पाङले प्रविधि विना विकास सम्भव नभएको भन्दै यो कार्यालयबाट बिशेष गरि कृषि अनुसन्धान हुने बताए । ‘अहिले झापा केन्द्रीत भएर काम गरिरहनुभएको छ । मैले धरानमा पनि विष्णुपादुकाको अदुवा र बेसारको अध्ययन गर्न भनेको छु, उहाँहरुले गरिरहनुभएको छ ।’
नाष्टको भवन निर्माणको लागि चालु आर्थिक बर्षमा २० लाख बजेट विनियोजना भएको इञ्जिनियर प्रभात तामाङले बताए । उनका अनुसार उक्त बजेटबाट यो पटक भवनको ५ वटा फाउण्डेशन पिलर, पिलरको बेसलगायतको मात्र काम हुनेछ । ‘स्टिमेट १९ लाख ९८ हजार ६ सयको भएको थियो, टेण्डर आह्वान हुँदा १४ लाख ५८ हजार २७५ रुपैयामा ठेक्का सम्झौता भएको छ,’ उनले भने, ‘निर्माण कम्पनी सरस्वती कन्स्ट्रक्सन धरान १६ छ । भवन ठुलो हो, यसपाली शुरुवाती चरणको मात्र काम हुनेछ ।’
शिलान्यास कार्यक्रममा सहभागी वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले संक्षिप्त प्रतिक्रिया दिदै भवन बन्नु सकरात्मक भएको प्रतिक्रिया दिए । नाष्ट अर्थात नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल सरकार अन्तर्गतको एक वैज्ञानिक तथा प्रविधि सम्बन्धी प्रतिष्ठान हो । यो संस्थाले विज्ञान, प्रविधि र नवप्रर्वतनको प्रर्वद्धन गर्ने काम गर्छ । नाष्टको स्थापना वि.स.२०४५ सालमा भएको थियो । नेपालमा विज्ञा र प्रविधिको क्षेत्रमा अनुसन्धान तथा विकास गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।
भिडियो: