धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका मोहनप्रसाद भट्टराई सधैं झै जेठ १७ गते बिहान दुध बिक्री गर्न धरान बजार गएका थिए । उनी घर फर्कदा साथीभाईले विस्मात लाग्ने खबर सुनाए,‘तिम्रो खेतमा सेहरा खोला पसेको छ ।’
उनी हतपत्र डाँडामाथिको घरबाट खेततिर हान्निए । अघिल्लो रात (१६ जेठ)मा ठुलो बर्षा भएको थियो । धानको ब्याड लगाउन ठिक्क पारेको खेतको अवस्था देख्दा उनी स्तब्ध भए । जुन खेतबारीमा पोहोर करिब ३० मुरी धान फलेको थियो, त्यो खेत सेहरा खोलाको बगरमा परिणत भएको छ । लहलह धान झुल्ने खेतमा बालुवा र ठुलठुला ढुंगा थुप्रिएको छ । ढुंगा कहाँबाट कसरी आयो भनेर भट्टराई अचम्मित छन् ।
‘यत्रो ढुंगाहरु पल्टाएर ल्याएको छ, के गर्ने, कसलाई भन्ने भनेर अलमलमा छुँ,’ उनी भन्छन्,‘जेठमा यस्तो बाढी आएको थाह छैन ।’ उनको ५ जनाको परिवार कृषि कर्ममा पालिएको थियो । सेहरा खोला किनारमा करिब १० कट्ठा जग्गा सबै बगरमा परिणत भएको छ । सेहराको बाढीले उनकै जग्गा हुदै पुर्वतर्फ हान्निएको देखिन्छ ।
जेठ १६ गतेको बर्षा, बाढी र पहिरोले धरानको विभिन्न वडामा ठुलो क्षति पुगेको छ । त्यसमध्ये वडा नं ६ पानवारीबासीलाई सेहरा खोलाले अकल्पनीय क्षति पुर्याएको छ । सेहराको बाढीले मोहनप्रसादको खेतीयोग्य जमिन मात्र होइन, उनको जग्गा नजिकै रहेको पानवारीबासीले बषौंदेखि उपभोग गर्दै आएको सिचाईको मुहानमा पनि क्षति पुर्याएको छ । साथै, खानेपानीको संरचनालाई पनि बगाएपछि समस्यामा परेको पानवारीबासी डिबि बिष्टले बताए ।
बिष्टका अनुसार सेहरा खोलाले पुर्वतर्फ क्षति पुर्याएर धान खेतीमा पसेर बगरमा परिणत गरेको छ । मास्तिर पाखामा पहिरो गएर सेहरा थुनिएको र ड्याम बनेर पछि एक्कासी फुट्दा पुर्वतर्फ हानिएको उनी अनुमान लगाउछन् । ‘यहाँ तत्काल तारजाली हालेर रोकथाम गर्ने र दीर्घकालिनरुपमा तटबन्धन गर्ने भनेर लागिपरेका छौं,’ उनले भने,‘सिचाई र खानेपानीको पाइपलाई पनि क्षति पुगेको छ ।’
बिष्टका अनुसार अहिले पानीको एउटा पाइपलाइन मात्र बचेको छ । केही पाइप बगाएर दुहबीतिर पुर्याएको उनले बताए । ‘अहिले कुलोको पानीलाई पुरानो ट्यांकीमा हालेको छौं, र थिग्रिएपछि पिउदैछौं,’ पानवारीबासीको बाध्यता र पीडा उनले सुनाए,‘पानवारीमा धेरै कृषक छौं, यहाँको सिचाई सेहरा खोलाको भरमा छ । अब ब्याड राख्ने समय हो, यो बेला पानी छैन । धाराको पानीले सम्भव नै हुदैन ।’
बिष्टका अनुसार केही दिनअघि मेयर हर्कराज राई (साम्पाङ)सँग समस्या राखेको र उनले सकेको सहयोग गर्ने वचन दिएका छन् । ‘मेयर साबसँग् कुरा राख्छौं, तत्कालको लागि तारजाली चाहिन्छ भनेको छौं,’ उनले भने,‘मैले सकेको सहयोग गर्छु भन्नुभएको छ । जाली पायौं भने हामी श्रमदान गरेर लगाउनछौं ।’ वडा कार्यालयबाट पनि सहयोग भइरहेको उनले सुनाए ।
पानवारी सिचाई नहर प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष विष्णुबहादुर कुँवरका अनुसार अहिले पाखा, भित्ताबाट बगेको पानीलाई बाटोबाट बगाएर कुलोमा लगाएर सिचाईको अस्थायी व्यवस्था गरिएको छ । तत्काल ग्याबिन लगाएर सेहराको पानीलाई डोलाउदै नहरको संरचनामा लगाउन सकेमात्र सिचाईको समस्या हल हुने उनले बताए ।
‘झोलुंगे पुल छेउमा २०७१ सालदेखि प्रदेश, केन्द्र सरकारको बजेट लगाएर कुलोको जग, वाल उठाएका थियौ । त्यो पनि बाढीले क्रमशः क्षति हुदैछ,’ अध्यक्ष कुँवरले भने,‘त्यो संरचना भत्कियो भने २०२०, २२ सालतिर बनेको नहर भत्कन्छ, र ६ नम्बर वडाको सिरानबाटै सेहरा खोला गाउँतिर पसेर अवस्था खतरनाक हुन्छ । खानेपानी र सिचाईलाई थप ठुलो क्षति पुग्छ ।’