धरान: सामान्यतया: जन्मदिनमा परिवारजन, आफन्त र साथीभाई भेला भएर केक काट्ने, उपहार दिने अनि खानपिनमा खर्च गर्ने चलन छ । मंगलबार भने धरानमा जन्मदिन मनाउन आयोजित कार्यक्रममा फरक दृष्य देखियो।

जन्मदिन थियो, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईको । उनको जन्मदिनमा धरान ३ सदन रोडस्थित प्रेस सेन्टर सुनसरीको कार्यालयमा कविता वाचन कार्यक्रम आयोजना भएको थियो । शब्द यात्राको आयोजनामा भएको कार्यक्रममा राईको मात्र कविता वाचन भएन, नयाँ पुस्तासँगै अग्रज श्रष्टाहरुले पनि आफ्ना रचना सुनाए ।

janak bday

शब्द यात्राले जन्मदिनलाई रचनात्मक बनाउन कार्यक्रम आयोजना गरेको राईले बताए । अहिले केही सुस्ताएको भएपनि यो संस्थाले विगतमा साहित्यिक कार्यक्रमहरु गर्दै आएको थियो । केही दिनअघि जेन जि पुस्ताको फरक शैलीको ओपन माइक कविता भइरहेको देखेपछि पनि परम्परागत शैलीको अध्यक्षता गर्ने, प्रमुख अतिथि राख्ने र भाषण गर्ने तरिका छोडेर कविता वाचन मात्र गरिएको उनले बताए । 

janak bday2

कार्यक्रममा पत्रकार राईले खुवालुङ, सदन र लय शिर्षकको कविता वाचन गरेका थिए । यस्तै, कवि भीम विरही र अमित थेवेले पनि कविता वाचन गरे भने नयाँ पुस्तका कवि, कवियित्रीहरु सम्यता मल्ल, बाँसुरी र आदेशसिंह क्षेत्रीले पनि कविता सुनाएका थिए । 

कार्यक्रममा आफ्नो जन्मदिनको अवसरमा पत्रकार राईसँगै विकास चाम्लिङले पनि संयुक्तरुपमा लिम्बु पत्रकार संघ सुनसरीलाई एक सुका अभियानको लागि रकम हस्तान्तरण गरेका थिए ।

janak bday1

संघका अध्यक्ष स्वर्णिमहाङ फोम्बोका अनुसार पत्रकारहरुलाई आफ्नो कर्ममा प्रतिवद्ध भएर लाग्न प्रेरित गर्ने उद्देश्यले पत्रकारिता पुरस्कारको कोष स्थापना गर्न एक सुका अभियान शुरु गरिएको हो । उक्त कोषको रकमबाट प्राप्त हुने ब्याजले बर्षमा लिम्बु भाषा, साहित्य, कला, इतिहासको संरक्षण, संर्वद्धनमा कलम चलाउने जुनसुकै समुदायको भएपनि ती पत्रकारलाई पुरस्कृत गरिने उनले बताए ।