धरान: सामुदायिक कुकुरले टोकेको करिब तीन महिना पछि धरानमा एक युवाको रेबिजले मृत्यु भएको छ ।
धरान १५ शिवगंगा बस्तीमा २८ बर्षीय प्रकाश मग्रातीको आज (बुधबार) साँझ करिब ७ बजे मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतक भोजपुर घर भई शिवगंगा बस्तीमा डेरा गरि बसेका थिए । उनी बुबा, आमा, दाजु र भाउजुसहित परिवारसँग डेरामा बस्थे ।
महाशाखा प्रमुख मेहताले आफुले अस्पतालको रिपोर्ट हेर्न नपाएपनि टिएलओ अध्यक्ष हरि राई, उपमहानगरपालिका सामाजिनक विकास समिति प्रमुख सृर्जना नेपालले रेबिजबाट नै मृत्यु भएको जानकारी पाएको पनि बताए । मृतक मग्रातीलाई करिब तीन महिनाअघि बगरकोटबाट घरतर्फ जादै गर्दा सामुदायिक कुकुरले टोकेको थियो । त्यसबेला लक्षण केही नदेखिएको र केही दिनअघि मात्र लक्षण देखिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो ।
'वीपीले यहाँ उपचार हुदैन, आइसोलेसनको लागि काठमाण्डौं टेकुमा लैजानु भनेपछि परिवारले घर ल्याएर सल्लाह गर्दै थिएछन्,' महाशाखा प्रमुख मेहताले भने, 'हामीले थाह पाएपछि वीपी हस्पिटलमा समन्वय गरेर यही आइसोलेसनमा राख्नको लागि लैजान तयारी हुदैथियो । तर साँझ मृत्यु भयो ।'
कुकुरले टोकेको खण्डमा लक्षण तत्काल नदेखिएर केही महिना वा बर्ष दिनपछि मात्र पनि रेबिजको लक्षण देखिनसक्ने मेहताको भनाई छ । मृतक मंग्रातीको हकमा पनि करिब ३ महिना पछि मात्र लक्षण देखिएको पाइएको उनले बताए । आफुहरु बस्तीमा पुग्दा स्थानीयबासी त्रसित अवस्थामा रहेको पनि मेहताले खुलाए । 'त्यो क्षेत्रमा मानिस त्रसित थिए, मास्क र पञ्चा लगाएर घर छेउमा पनि गएका थिएनन्,' उनले भने, 'कोभिडको शुरुवाती अवस्था जस्तो भएको थियो । म र वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे सर पुगेर सम्झाएपछि मात्र स्थानीयबासी ढुक्क हुनुभयो ।'
मेहताका अनुसार रेबिज मान्छेबाट अरुलाई हत्तपत्त सर्दैन । एउटा व्यक्तिबाट अर्कोलाई सर्न र्याल वा दाँतले टोकेको, घाउ वा रगतमा र्याल पुगेको खण्डमा मात्र सर्ने जोखिम हुने उनले बताए । 'हामीले परिवारजनलाई नआत्तिन भनेका छौं, स्थानीयलाई पनि सम्झाईबुझाई गरेका छौं,' उनले भने ।
कन्ट्याक्ट ट्रेसिङ गरेर भ्याक्सिन लगाउने
धरान उपमहानगरपालिकाबाट भोली (बिहिबार) मृतकको घरमा स्वास्थ्यकर्मीको टोली गएर कन्ट्याक्ट ट्रेसिङ गर्ने भएको छ । महशाखा प्रमुख मेहताका अनुसार जोखिम न्युनीकरण गर्न मृतकको को को व्यक्तिसँग भेट भएको थियो भनेर पहिचान गर्ने र निःशुल्क एन्टि रेबिज भ्याक्सिन लगाउने तयारी भएको छ ।
'यसको लागि स्वास्थ्य कार्यालय सुनसरीसँग पनि समन्वय गर्ने उनले बताए । पशु सेवा केन्द्रसँग पनि समन्वय भएको छ, त्यहाँबाट पनि टोली जान्छ,' मेहताले भने ।