धरान: बिपी अध्ययन प्रतिष्ठानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा केन्द्रको मान्यता तत्काल प्रदान गर्न माग गरेको छ । 

अध्ययन प्रतिष्ठानका सभापति विकास आचार्यले शनिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । स्वास्थ्य बीमा बोर्डले बिपी प्रतिष्ठानलाई रेफरल सेन्टरकोरुपमा मात्र कायम गर्ने निर्णय गरेको छ । उक्त निर्णय सार्वजनिक भएलगत्तै धरानबासीहरुबाट निर्णय फिर्ता लिन चौतर्फी माग भइरहेको छ । 

अध्ययन प्रतिष्ठानले बिपी प्रतिष्ठानमा आउने धरानका बीमा सदस्यहरूले बिना रेफर सिधै उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था तत्काल सुनिश्चित गर्न माग गरेको छ । साथै, बिपी प्रतिष्ठानको रोकिएको बीमा रकम भुक्तानी पनि तत्काल गर्न माग गरेको छ । प्रतिष्ठानको ७५ करोडभन्दा बढी बीमा बोर्डले भुक्तानी दिएको छैन । 

यस्तै, प्रतिष्ठानमा हाल बीमित सेवाग्राहीहरुले झन्झटिलो प्रक्रिया व्यहोर्नुपरिरहेकोले सुधार गरेर तत्काल सुलभ र सहज बनाउने काम गर्न पनि अध्ययन प्रतिष्ठानले माग गरेको छ । 'हामी सरकारका सरोकारवाला निकायहरूलाई जनताको स्वास्थ्यप्रति जिम्मेवार रहन र तत्काल सुधारात्मक कदम चाल्न आग्रह गर्दछौं,' विज्ञप्तीमा भनिएको छ, 'स्वास्थ्य सेवा मौलिक हक हो, त्यसमा पहुँच सहज, समान र सम्मानजनक हुनैपर्छ।'

प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा बोर्डले केवल ‘रेफरल सेवा केन्द्र’ को रूपमा मात्र मान्यता दिइएकोप्रति गम्भीर आपत्ति पनि प्रकट गरिएको छ । यो निर्णयले बीमा कार्ड भएका धराने सर्वसाधारणहरूलाई सिधै प्रतिष्ठानमा पुगेर सेवा लिन असहज भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 'रेफरल आवश्यकताको झन्झटिलो प्रक्रियाले बिरामीहरूको स्वास्थ्य जोखिम बढाउने मात्र नभई, तिनको स्वास्थ्य उपचारको मौलिक अधिकारमा समेत ठेस पुर्‍याएको छ,' विज्ञप्तीमा भनिएको छ । 

bp adyan