धरान: चौतर्फी दबाब पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप तीन महिनाको लागी प्रथम सेवा केन्द्रकोरुपमा राख्ने स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको छ ।
साउन १ गतेदेखि प्रथम सेवा केन्द्र हटेर रिफरल सेन्टरकोरुपमा मात्र रहने बोर्डको निर्णय विरुद्ध सर्वत्र विरोध भएपछि बीमा बोर्डले यस्तो निर्णय गरेको हो । बीमा बोर्डले यो निर्णय प्रतिष्ठानलाई जानकारीमा दिइसकेको छ । बोर्डको यो निर्णयसँगै अब असोज मसान्तसम्म बीपी प्रतिष्ठानबाट प्रथम र रिफरल सेन्टरकोरुपमा सेवा प्रवाह हुनेछ ।
तीन महिनाभित्र धरानमा आधारभुत स्वास्थ्य केन्द्र वा नगर अस्पताल तयार गर्नुपर्ने हुन्छ । त्यसपछि प्रतिष्ठानले दिदै आएको प्रथम सेवा केन्द्र आधारभुत स्वास्थ्य केन्द्र वा नगर अस्पतालबाट सञ्चालनमा आउनेछ । बीमा बोर्डको निर्णय सच्याउन माग गर्दै धरानमा सर्वपक्षीय संघर्ष समितिले दैनिकरुपमा धर्ना गरिरहेको छ भने राजनीतिक दलहरुले पनि निरन्तर पहल गरिरहेको छ । यस्तै, स्वतन्त्र नागरिक समाजले पनि दैनिकरुपमा भानुचोकमा विरोधसभा र बीपी प्रतिष्ठानसम्म विरोध र्याली गरिरहेको छ ।
कांग्रेस नेता मीन विश्वकर्माले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई भेटेर धरानमा सरकारी स्वास्थ्य केन्द्र वा अस्पताल नभएकोले जनता मारमा परेको जानकारी गराउदै निर्णय पुर्नविचार हुने बताएका थिए । निरन्तरको पहलपछि आजै स्वास्थ्यमन्त्री पौडेलले प्रथम सेवा विन्द नभएको स्थानमा केन्द्रीय सरकारी अस्पतालमा नै प्रथम विन्दु कायम रहने व्यवस्था मिलाएको फेसबुक पोष्टमार्फत जानकारी दिएका थिए । साथै उनले प्रथम सेवा विन्दुको लागि स्वास्थ्य संस्था नभएको स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न तथा स्तरोन्नती गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने पनि बताएका छन् ।
बीमा सम्झौता पनि नवीकरण
बीपी प्रतिष्ठानका अनुसार बीमा बोर्डले सम्झौता पनि नविकरण भएको जानकारी दिएको छ । प्रतिष्ठानका अस्पताल प्रमुख अशोककुमार साहले मोवाइल सम्पर्कमा भने,‘सम्झौता पनि रिन्यु भएको बीमा बोर्डले जानकारी दिएको छ । पत्र भोली आउने कुरा छ ।’