धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेयर तारा सुब्बाको असामयिक निधनले धरान र एमाले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन् ।

स्वर्गीय मेयर तारा सुब्बाको सातौं स्मृति सभाको अवसरमा बिहिबार धरान १९ हरियाली वन समुहमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले मेयर सुब्बाको निधन पछि नै धरानमा एमालेको ठुलो जनमत हुँदाहुदै पनि पछिल्लो २ वटा निर्वाचन परिणाम विपक्षमा गएको पनि बताए । 

‘वास्तवमा उहाँको निधनबाट धरानले ठुलो क्षति व्यहोर्नुपर्यो । हाम्रो पार्टीले मुल खम्बा नै गुमायौं,’ मुख्यमन्त्री कार्कीले भने,‘धरानमा एमालेको ठुलो जनमत हुँदाहुदै पनि निर्वाचन परिणाम केही बर्षदेखि हाम्रो विपक्षमा गएको गएकै छ ।’ २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा निवार्चित तारा सुब्बाको अर्को बर्ष साउन १ गते निधन भएको थियो । उनको निधनपछि मेयर पदको लागि भएको उपनिर्वाचनमा एमाले र माओवादी एकता भएर नेकपा बनेको बेला पनि कांग्रेसले जितेको थियो भने २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले मेयरमा विजयी हुँदा एमाले उम्मेद्वार तेस्रो स्थान भएको थियो । 

मुख्यमन्त्री कार्कीले मेयर सुब्बालाई श्रद्धाञ्जली दिदै गर्दा धरानलाई समृद्ध, विकसित, सबैलाई बस्नको लागि सुरक्षित छ भन्ने बनाउन संकल्प गर्नुपर्ने बताए । धरानमा जातीय दंगा, धार्मिक र साम्प्रदायिक सद्भाव भड्किने हो कि भन्ने त्रास बेला बेला उत्पन्न भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले त्यसकोविरुद्ध धरानबासीहरु एकतावद्ध भएर उभिनुपर्ने बताए ।

hikmat karki

‘धरानमा बाहिरका मान्छे आउन मन लाग्ने बनाउनुपर्छ । बसाई सरेर गएकाहरु धरानै फर्कनुपर्छ भन्ने बनाउनुपर्छ, तर त्यो भइरहेको छैन,’ उनले भने, ‘धरानलाई एकतावद्ध बनाउन, धरान सबै जाति, भाषा, धर्म सम्प्रदायको औपचारिक थलो हो, यहाँ कुनै पनि खालको भेदभाव, उग्रताहरु, समस्याहरु छैन, धरान सुरक्षित सहर पनि हो भन्ने बनाउन संकल्प गर्ने दिन पनि हो आज ।’

मुख्यमन्त्री कार्कीले २ बर्षअघि बजेट बनाउने क्रममा आफु अर्थमन्त्री रहदा ४ वटा डिप बोरिङ गरेर पानीको अस्थायी समाधान गर्ने प्रयास गरेका पनि स्मरण गरे । ‘यसपाली पनि धरानबाट लेउती सडक सुरुङमार्ग जोडेर खानेपानीमा पनि ल्याउने गरि बजेटमा राखेको छुँ, त्यसको अध्ययन गराउछु,’ उनले भने, ‘सुरुङ मार्गले बाटो पनि नजिक हुने, खानेपानी पनि आउने भयो भने संघीय सरकारसँग समन्वय र सहकार्य गरेर उच्च प्राथमिकतामा राख्छौं ।’

कार्यक्रममा एमाले नेता नारायण सुवेदीले स्वर्गीय मेयर सुब्बाको जीवनी वाचन गरेका थिए भने प्रदेशका पुर्वसभामुख प्रदिप भण्डारीले मेयर सुब्बाको अन्तिम क्षणको स्मृति सुनाउदै भावुक बनेका थिए । सोही कार्यक्रममा तारा सुब्बा स्मृति प्रतिष्ठानको नयाँ कार्यसमिति नारायण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बनेको घोषणा पनि गरिएको थियो । 

भिडियो: