धरान: नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव कोशी खानेपानी योजनाबारे कुरा गर्न शुक्रबार धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ)ले भेट गरेनन् । आफ्नै चुनावी एजेण्डा रहेको कोशीको पानी धरान ल्याउने योजनाबारे मन्त्री आफै भेट्न आउदा पनि वेवास्ता गरेपछि मेयर साम्पाङको आलोचना र टिकाटिप्पणी भइरहेको छ । 

मन्त्री आफै आउदा पनि किन नभेटेको भन्ने प्रश्न सार्वजनिकरुपमा उठिरहदा मेयर साम्पाङले भने विदेशी ऋण लिएर विकास नगर्ने भएकोले भेट नगरेको बताएका छन् । शुक्रबार धरान १८ स्थित बुद्धचोकमा आयोजित लागुऔषध विरुद्धको कार्यक्रममा बोल्दै मेयर साम्पाङले भने,‘विदेशी ऋण लिएर धरानमा विकास गर्न चाहन्न, विकास गर्न पनि दिन्न ।’

मेयर साम्पाङले खानेपानीको लागि ३ बर्षदेखि सिंहदरबार धाइरहदा ४ करोड बजेट विनियोजन गरेको र बाँकी सबै एडिबिको ऋण लिनुपर्ने भएकोले मन्त्रीलाई भेट नगरेको बताए । ‘पुरानै ५०, ६० करोड जति ऋण छ, त्यही तिरेको छैन,’ मेयर साम्पाङले भने,‘फेरि अर्को २ अर्ब लोन धरानेको टाउकोमा बोकाउन चाहन्न । खानेपानी योजना दिने हो भने राष्ट्रिय योजनामा पारेर दिनुपर्छ ।’

आफुसँग वकवास कुरा सुन्ने फुर्सद नभएको भन्दै मेयर साम्पाङले अबदेखि खानेपानीको योजना लिएर सिंहदरबार नजाने पनि बताए । ‘अब खानेपानीको योजना लिएर सिंहदरबार जादिन, उनीहरुलाई थाह छदैछ । पहिला पनि खानेपानीको लागि पैसा दिएको भन्थे, त्यो सबै ऋण हो,’ मेयर साम्पाङले भने ।

करिब ६ अर्ब लागत अनुमान रहेको कोशी खानेपानी योजनाको लागि एडिबिबाट बजेट आउनेछ । कुल लागतको ८५ प्रतिशत नेपाल सरकारले एडिबिबाट लिएर धरानलाई अनुदान दिनेछ भने १५ प्रतिशत मात्र स्थानीय सरकारले लगानी गर्नुपर्ने मन्त्री यादवले बताएका छन् । एडिबिसँग सरकारले लिने ८५ प्रतिशत बजेट धरानले तिर्नु नपर्ने पनि मन्त्री यादवले प्रष्ट पारेका छन् । 

भिडियो: