धरान: हरेक बर्ष साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउने बोलबम धार्मिक मेला यो बर्ष पनि शुरु भएको छ । 

साउन १ गते नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट उद्घाटन भएको धार्मिक मेलामा आज सोमबार भने बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार भक्तजनहरुको घुँइचोको कारण राती १ बजे नै पूजा गरेर गेट खोलिएको थियो ।

स्थानीय भक्तजनहरुको धेरै संख्या भएपनि बराहक्षेत्रबाट कोशीको जल बोकेर पैदल यात्रा गरि आउने भक्तजनहरु पनि छन् । विगतमा आइतबार नै चतरा जाने र कोशीको पानी बोकेर मध्यराती हिडेरै पिण्डेश्वरमा जल चढाउन आउने प्रचलन थियो । पछिल्लो समय भने यो चलन हराउदै गएर मोटरसाइकल एवं सावरी साधनमा भक्तजनहरु जल चढाउन पिण्डेश्वर आउने गरेका छन् । 

bolbam3 1

बाबाधाम समितिका अनुसार भक्तजनहरुको सुरक्षा र सहजताको लागि सुरक्षाकर्मी, स्वयम्सेवकहरु खटिएका छन् भने विभिन्न संघसंस्थाहरुले पानी, प्रसाद र प्राथमिक उपचार सेवा पनि राखेका छन् । ज्येष्ठ नागरिक, अशक्तहरुलाई छुट्टै जल चढाउने व्यवस्था पनि गरिएको अध्यक्ष वनेपालीले बताए । 

शिवजट्टाबाट जल ल्याएर चढाउने प्रचलन

bolbam1 1

विगतमा बोलबम भक्तजनहरुले चतराबाट जल बोकेर पैदल हिडेरै पिण्डेश्वर मन्दिरमा चढाउने चलन थियो । बोलबमको नारा लगाउदै आइतबार राती मन्दिर आउने भक्तजनहरुको लस्कर हुन्थ्यो । 

आज (सोमबार) भने शिवजट्टाबाट जल ल्याएर चढाउने नयाँ प्रचलनको शुरुवात गरिएको छ । वडा नं १३ र वडा नं १४ का वडाअध्यक्षहरु क्रमशः नेत्र काफ्ले र कृष्णप्रसाद भट्टराईको पहलमा यो प्रचलनको शुरुवात गरिएको हो । 

bolbam4 1

वडाअध्यक्षद्धयसँगै धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई, बोलबम भक्तजनहरु ब्यानरसहित सोमबार बिहान शिवजट्टा पैदल गएका थिए । त्यहाँबाट जल ल्याएर उनीहरु पैदल मन्दिरमा आएर चढाएका थिए । शिवजट्टा धरानको वडा नं ४ मा पर्छ । जुन पिण्डेश्वर मन्दिरबाट करिब ७ किलोमिटर दुरीमा रहेको छ । 

शिवजट्टामा झरना पनि रहेको छ, त्यहाँ भगवान शिवले नुहाएको भन्ने विश्वास गरिन्छ । धार्मिक हिसाबले पनि महत्वपुर्ण रहेको उक्त ठाउँको पनि प्रचार हुने र पवित्र पानी पनि भएकोले त्यहाँको जल चढाउने प्रचलन शुरुवात गरिएको वडाअध्यक्षद्धयको भनाई छ । प्रत्येक सोमबार शिवजट्टा गएर जाने र त्यहाँको जल पिण्डेश्वरमा ल्याएर चढाउने उनीहरुले बताए । 

भिडियो: