धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाउने क्रममा औपचारिक कार्यक्रम सकिएपछि पक्राउ परेका सबै रिहा भएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान ११ स्वास्तिका चोकबाट सोमबार दिउँसो पक्राउ गरेका ७ जनालाई राती करिब साढे ८ बजेतिर छोडेको हो ।समितिको औपचारिक कार्यक्रम सकेर आयोजक र मुख्य अतिथिहरु बाहिरिसकेपछि कार्यक्रमस्थल पुगेको प्रहरीले खाजा खाइरहेका अन्य अतिथिहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरुमा युवा कवि तथा अभियन्ता अमित थेवेसहित भिम बहादुर लिम्बु, बिन्द्र राई, मिलन राई, समृत मादेन लिम्बु, राजकुमार मगर र अर्जुन कुमार राई सबै छुटेका छन् । सास्ँकृतिक अधिकार संरक्षण समितिका अध्यक्ष सुवास हुक्पा चोङवाङले कार्यक्रममा बोलाएका केही अतिथिहरुलाई कार्यक्रम सकेपछि प्रहरीले किन लगेको भन्ने थाह पाउन नसकिएको बताए ।
‘औपचारिक कार्यक्रम सकेर हामी बाहिरिएका थियौं । केही अतिथि पाहुनाहरु खाजा लिदै हुनुहुन्थ्यो,’ उनले भने,‘कुनै घटना नभै प्रहरीले किन लग्यो, त्यसमा हाम्रो आपत्ति रह्यो । अहिले सबै छुटिसक्नु भएको छ ।’ धरानका डिएसपी प्रकाश जबेगुसँग रिहा गरेको बिषयमा जानकारी लिन सम्पर्क गर्दा मोवाइल फोन उठेन ।
आयोजक समितिले हरेक बर्ष साउन ५ गतेलाई स्थापना दिवस मनाउने गरेको छ । आदिबासीहरुको साँस्कृतिक अधिकार भएकोले गोरु काट्न पाउनुपर्ने आवाज समितिले उठाउदै आएको छ । स्थापना दिवसको दिन एक जना अधिकारकर्मीलाई सम्मान पनि गर्ने गरेको छ । आजको क्रममा गोरु चिन्तन पुस्तक र यसका लेखक जनकऋषि राईलाई सम्मान गरिएको थियो ।