धरान: सरकारी अस्पताल नहुँदा आधारभुत स्वास्थ्य सेवाबाट समेत बञ्चित रहनुपरेको भन्दै धरानमा नगर अस्पताल बनाउन वडा वडामा पहल समिति गठनको अभियान तीब बनेको छ ।
धरानका नागरिक अगुवाहरुले स्वतस्फुर्त छाताचोकस्थित पुरानो धरान अस्पतालमा नै नगर अस्पताल सञ्चालनमा ल्याउन दबाब दिनको लागि वडाहरुमा पहल समिति निर्माण गरिरहेका छन् । यो अभियानले छाताचोकमा नगर अस्पताल सञ्चालन गर्न र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गएको धरान अस्पतालको जग्गा पुनः फिर्ताको पहल गर्न समिति गठन गरिरहेको जनाएको छ ।
समितिले बुधबार नै नगर प्रमुख हर्कराज राईसँग पनि भेट गरेर अभियानबारे जानकारी गराएको थियो । साथै, नगर प्रमुख राईको पनि नगर अस्पताल बनाउने र बीपीबाट जग्गा फिर्ता गराउने सोच भएकोले सहकार्य गर्न सकरात्मक छलफल भएको अभियन्ता हरि कार्कीले जानकारी दिए ।
पछिल्लो समय स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु बीपी प्रतिष्ठानबाट हटाउने बीमा बोर्डको निर्णयले धरानमा आधारभुत स्वास्थ्य केन्द्र अथवा नगर अस्पताल अतिआवश्यक भएको महशुस भएको थियो । बीमाको प्रथम सेवाको लागि भएपनि नगर अस्पताल तीन महिनाभित्र सञ्चालनमा ल्याउनुपर्ने धरान सरकारलाई दबाब छ ।
नगर अस्पताल बनाउनुपर्ने र सरकारले वीपी प्रतिष्ठानलाई दिएको पुरानो धरान अस्पतालको जग्गा फिर्ता ल्याउनुपर्ने माग उठिरहदा नागरिक अगुवाहरुले पहल समिति गठनको अभियानलाई अघि बढाएका हुन् । वडा नं १ बाट शुरु भएको यो अभियानले हाल वडा १२, १३, ७, ५ र ९ नम्बर वडामा पहल समिति गठन गरिसकेको छ । पहल समितिको संयोजक सम्बन्धित वडाका वडाअध्यक्षलाई नै राखिने गरिएको छ ।
नगर अस्पताल बनाउन निर्णय र कार्यान्वयन गर्न साथै केन्द्र सरकारबाट वीपीको नाममा गएको जग्गा फिर्ताको लागि स्थानीय सरकार, कार्यपालिकामा रहेका वडाअध्यक्षहरुकै प्रमुख भुमिका हुने भएकोले वडाअध्यक्षको नेतृत्वमा वडा वडामा पहल समिति गठन भइरहेको अभियन्ता महेश श्रेष्ठले बताए ।
‘कार्यपालिका बैठकमा र नगरसभामा एजेण्डा राख्ने, छलफल गर्ने र निर्णय गर्ने अधिकार उहाँहरुलाई नै छ, त्यसैले नगर अस्पताल तत्काल बनाउने एजेण्डा र बीपीबाट धरान अस्पतालको जग्गा फिर्ता गर्ने एजेण्डालाई प्रवेश गराउने जिम्मेवारीसहित उहाँहरुलाई संयोजक राखिएको हो,’ वडा नं को छलफलमा श्रेष्ठले भने,‘आज नै हामीले नगर प्रमुखलाई पनि भेट्यौं । नगर अस्पताल निर्माण गर्ने उहाँको पनि सोच हो भने भेटौं भनेर गयौं ।’
वीपी प्रतिष्ठान जस्तो बिशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालमा रिफरल सेन्टर मात्र रहने भएकोले बीमाको प्रथम सेवा त्यहाँ सधैको लागि रहन नसक्नेबारे प्रष्ट हुनुपर्ने उनले बताए । यसको लागि स्थानीय सरकारले नगर अस्पताल बनाएर सरकारी स्वास्थ्य सेवा नगरबासीलाई दिनुपर्ने र यसको लागि वडाअध्यक्षहरुले पनि भुमिका निर्वाह गर्नको लागि वडा वडामा पहल समिति गठनको अभियान शुरु भएको उनले बताए ।
वडा नं ९ का वडाअध्यक्ष रुपेश आचार्यले जनप्रतिनिधिहरुले गर्नुपर्ने काम नागरिक अगुवाहरुले गरिरहेको भन्दै आभार व्यक्त गरेका थिए । साथै उनले वीपी प्रतिष्ठानबाट जग्गा फिर्ता भए पनि नभएपनि आर्थिक सहयोग जुटाएर भएपनि नगर अस्पताल बनाउनुपर्ने बताए । ‘कार्यपालिकाले निर्णय गरेको छ, नगर अस्पताल बनाउन । यसलाई कार्यान्वयन गर्नुपर्छ,’उनले भने,‘हामीले गर्न सकेनौं भने पनि एक एक रुपैया जनताबाट उठाएर भएपनि यो अस्पताल बनाउनुपर्छ, पैसा उठाउन दिनरात हिड्न साथ दिन्छु ।’
बीपीको जग्गा फिर्ता नभएपनि अर्को कुनै ठाउँमा जग्गा खोजेर भएपनि हस्पितल बनाउनुपर्ने उनले बताए । ‘अर्को ठाउँमा भएपनि नगर अस्पताल बनाएर जनतालाई स्वास्थ्य सुविधा दिनुपर्छ,’ उनले भने ।
भिडियो: