धरान: कोशी प्रदेशका सांसद विजय राईले सभ्य सहरकोरुपमा रहेको धरानलाई स्वतन्त्रबाट निवार्चित मेयरले वदनाम गराईरहेको बताएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघमा शनिबार आयोजित सप्तकोशी परियोजना तथा नगर अस्पताल निर्माणबारे आयोजित अन्तरक्रियामा सांसद राईले यस्तो बताएका हुन् । उनले नगर प्रमुखको कार्यहरुले धराने जनताको शिर निहुरिएको पनि बताए । ‘नचाहिदो कुरामा जिद्दी गरिरहने, अराजक भिडको सहर हो र धरान ? यो त सभ्य सहर हो नि त,’ उनले भने, ‘यो सभ्य सहरलाई स्वतन्त्रको नाममा आएको नगर प्रमुखले वदनाम गर्दैछ ।’
सांसद राईले राजनीतिक पार्टीहरुविरुद्ध भ्रष्टचारी, झोले, सबै घुस्याहा, देश विगारेको भन्ने भाष्य निर्माण गरेपनि विगतमा धरानको मेयर, उपमेयरमा निवार्चित जनप्रतिनिधिलाई भ्रष्टचार गरेको पुष्टि गर्न नसक्ने बताए । तर, अहिले स्वतन्त्रबाट निवार्चित मेयरले भ्रष्टचार गरेको पुष्टि गर्ने उनले दाबी गरे ।
‘दलहरुबाट हिजो मेयर, उपेयर निर्वाचित हुँदा भ्रष्टचार कहाँ भयो, कसैले पुष्टि गर्न सक्छ ? सक्दैन । तर अहिले स्वतन्त्रले गरेको भ्रष्टचार पुष्टि हुन्छ,’ उनले भने, ‘खानेपानी बोर्डमा कति पैसा उठ्छ ? त्यसको पैसा कहाँ गयो ? खानेपानीमा आएको पैसा खानेपानीमा गयो, के गर्छस् गर भन्ने हो र । जिम्मेवार बन्नुपदैन जनप्रतिनिधिहरु । म त मेयर मात्र कहाँ हो र ? नगरपिता, श्रमपिता हो भनेर भन्ने, तर जिम्मेवार मान्छे होइन र ?’
सामाजिक सञ्जालमा मेयरको गलत कार्यशैलीविरुद्ध बोल्दा पाडे गाली खाइन्छ भनेर चुपचाप नबस्न सांसद राईले राजनीतिक दलहरुलाई आग्रह पनि गरे । उनले भने, ‘हामी लोकतन्त्र, गणतन्त्रको लागि जीवन आहुति गर्न हिडेको मान्छे गाली खाइन्छ भनेर, त्यो पनि फेक आइडिको गाली खाइन्छ भन्ने नाममा सही कुरा नबोल्ने ? बोल्नुपर्छ, परिस्थिति आयो भने प्रतिवाद गर्नुपर्छ ।’
विज्ञान र प्रविधिको युगमा भ्रमको खेतीमा कोही पनि नलाग्न सांसद राईले आग्रह गरे । उनले पत्रकारहरु पनि व्यक्तिको पछि लागेको भन्दै समाजप्रतिको जिम्मेवारी मनन् गर्न आग्रह पनि गरे । ‘धरान हल्ला, फण्डाबाजीको सहर हुदैछ, यसलाई रोक्नको लागि सबै दलहरु लाग्नुपर्छ,’ सांसद राईले भने,‘वदनाम सहरकोरुपमा जुनढंगले धरानलाई विकास गर्न खोजिएको छ, यो रोक्न सबैलाई आग्रह गर्छु ।’
सांसद राईले धरानको अस्पताल, विपी प्रतिष्ठानमा प्रथम सेवा केन्द्र, सप्तकोशीको पानी आयोजनाले निदहराम भएको बेला नगर प्रमुखलाई भने कुनै चिन्ता नभएको पनि बताए । ‘खानेपानीको यत्रो मौका आएको छ, त्यो गुम्ला कि भन्ने छ, अनि, नगर प्रमुख के ? कस्तो नगर प्रमुख हो ? गर प्रमुख भए गथ्र्यो होला, नगर भइदियो, र त्यसो भएको हो कि ?’ कटाक्ष गर्दै उनले भने, ‘यो आएको अवसरलाई गुमाउन दिनुहुन्न, गुम्यो भने यसको जिम्मेवारी एउटा मेयर लिने हो र ? उसले त हाँसेर उडाइदिन्छ । यहाँको राजनीतिक दल जनप्रतिनिधिहरुलाई धराने जनताले प्रश्न गर्यो भने हामीले के भन्ने ?’ उनले कार्यदल बनाएर अनुदानलाई कार्यान्वयन गर्नको लागि सबै लाग्नुपर्ने पनि बताए ।
'बाँदरको जस्तो व्यवहार भयो'
सांसद राईले सप्तकोशी खानेपानी परियोजनाको सन्दर्भमा मेयर हर्कराज राईको व्यवहार बाँदरको जस्तै भएको टिप्पणी पनि गरे । आफैले खानेपानीको कुरा गर्ने तर अहिले बजेट दिने भएपछि छलफलमा नआइ भागिहिड्ने गरेको सांसद राईले बताए ।
‘बाँदरकै वंश हो कि जस्तो लाग्यो । आफ्नो घर पनि नबनाउने, अर्काको पनि भत्काउने । आफैले खानोपनीको कुरा गरेको गरेकै गर्ने, सबैलाई भन्ने । एडिबि होस्, चाहे जाइका होस्, वल्र्ड बैंक होस्, जहीबाट भएपनि धरानमा खानेपानीको लागि पैसा दिनुपर्यो भन्ने,’ सांसद राईले भने, ‘अब पैसा आयो, छलफल छैन, भागेको भागेकै गर्ने ।’
उनले आएको कुरालाई सही तरिकाले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । धराने जनताको टाउको ऋण बोकाउनु हुन्न भन्दै भ्रमको खेती गरिरहेको पनि सांसद राईले बताए । ‘धरानको पक्षमा नबोल्ने, हितमा नबोल्ने, खाली हावादारी कुरा गरेर विदेशमा रहेका नेपाली दाजुभाईलाई आपत पर्यो, पाइप किन्न पर्यो हजुर भनेर । भात खाने पैसा छैन भनेर,’ सांसद राईले भने,‘ठुलो मन भएको हामी दिइहाल्छौं । त्यसको लागि मात्र गर्ने हो कि के हो । नत्र ठिक छ, यसको फाइदा बेफाइदा कुराहरु होला, तर संघीय सरकारले प्रष्ट भन्यो त अनुदान मार्फत हो भनेर ।’
धरानको आवश्यकता र धरानको विकास हुन्छ भने ऋण लिदा पनि आपत्ति मान्नु नपर्ने उनले जिकिर गरे । ‘यो त संघीय सरकारले दिने अनुदान हो, तर कत्रो राष्ट्रवादी, धरान गजबको सहर भएछ, एउटा व्यक्ति भनेको यहाँ सबै कुरा हो,’ उनले भने ।
भिडियो: