धरान: इटहरी वडा नं २ का एक युवाको धरानमा प्रहरीको कुटाईबाट घाइते भएर उपचारको क्रममा मृत्यु भएको भन्दै मृतकका परिवारजनले घटनाको छानबिन गर्न माग गर्दै ईलाका प्रहरी कार्यालय धरानमा आक्रोश पोखेका छन् । 

धरानको तीनकुनेस्थित चेकपोष्टमा चेकजाचको क्रममा २० बर्षीय युवराज निरौलालाई कुटपिट भएको र सोही कारणबाट गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको आफन्तजनको आरोप छ । उक्त घटना रहस्यमय भएकोले उचित छानबिन गर्नुपर्ने परिवारजनको माग छ । सोही बिषयमा उनीहरुले ईलाका प्रहरी कार्यालयमा भेला भएर प्रहरीमाथि आक्रोश पोख्दै दबाब सृर्जना गरेका थिए । मृतकका आफन्तजनहरुले घटनाको छानबिन नभएसम्म दाहसँस्कार नगर्ने बताएका छन् । 

आफन्तजनका अनुसार घटना साउन ९ गते राती करिब ८ बजेको हो । मृतक निरौला र २२ बर्षीय साथी दीपक कटवाल धरान आइरहदा तीनकुने चेकपोष्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाडीबाट झारेका थिए । लागुऔषध सेवन गरेका दुवैलाई प्रहरीले रोकेर सोधुपछ गर्ने क्रममा विवाद भएको र सोही क्रममा निरौलामाथि निर्घात कुटपिट भएको परिवारको दाबी छ । उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको परिवारजनले बताएका छन् । 

मृतकका भाई सन्तोषका अनुसार शुक्रबार ८ बजे दाई पक्राउ परेको भन्दै प्रहरीले फोन गरेको थियो भने ११ बजे पुनः घाइते भएको भन्दै वीपी प्रतिष्ठानमा आउन भनेको थियो । राती ११ बजे गाडी नपाएपछि हिँडेरै बिहान २ बजे वीपी प्रतिष्ठानमा आइपुगेको र इर्मजेन्सीमा टाउकोमा रगत बगेर अचेत अवस्थामा दाईलाई भेटेको उनले बताए । वीपीमा उपचार हुन नसकेपछि विराट नसिङ होम रिफर भएको र त्यहाँ टाउकोको नर्मल अप्रेशन गरेर भेन्टिलेटरमा राखिएको थियो । 

भाई सन्तोषका अनुसार विराट नर्सिङबाट विराट टिचिङ लगेर सिटिस्क्यान गरेर हेर्दा टाउकोको धेरै ठाउँमा रगत जमेको र अप्रेशन गरेपनि उपचार सम्भव नहुने चिकित्सकहरुले बताएका थिए । त्यसपछि युवराजलाई कोशी अस्पताल लैजदा शनिबार बिहान निधन भएको थियो । उनले कुटाईबाट मृत्यु भएको दाबी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् । 

उक्त घटनामा मृतक निरौलासँगै रहेका दीपक प्रहरी हिरासतमा छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै घटना ९ गते राती ११ बजेर ५० मिनेटको समयमा दुवैको साथबाट ट्रामाडोल लागुऔषध वरामद भएको बताएका छन् । 

चेकजाँचको क्रममा दुवैबाट लागुऔषध भेटिएपछि सोधपुछको क्रममा मृतक भागेर शनि मन्दिर नजिक अचेत अवस्थामा ढलेको र उपचारको लागी वीपी हस्पिटल लगिएको जबेगुले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । साथै उनलाई प्रहरीले कसैलाई कुटपिट नगरेको र पैसा पनि नमागेको दाबी गर्दै घटनाबारे अनुसन्धान गर्ने बताएका छन् ।