धरान: दिल्ली जाने क्रममा पटनाको ट्रेन स्टेशनमा घाइते भेटिएर उपचारको क्रममा निधन भएका धरान १७ का सनम राईलाई न्याय दिलाउन माग गरिएको छ ।
सोमबार साँझ धरानको भानुचोकमा स्वर्गीय राईप्रति दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै न्यायको माग गर्दै प्ले कार्ड प्रर्दशन पनि गरिएको थियो । मृतक राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न र न्याय दिलाउने अभियानमा एक्यवद्धता जनाउन थुप्रै व्यक्तिहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रममा वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले श्रद्धाञ्जली व्यक्त गर्दै धरान प्रहरीसँग समन्वय गरिरहेको बताए । उनले मृतक राईलाई दिल्ली लिएर सँगै जादै गरेका दीपक राईलाई प्रहरी प्रशासनले झिकाएर सत्यतथ्य बाहिर ल्याउन चासो दिनुपर्ने पनि बताए । उनलाई नेपाल झिकाउन सम्बन्धित निकायहरुमा समन्वय र पहल गरिरहेको पनि वडाअध्यक्ष भट्टराईले बताए ।
उनका अनुसार घटनापछि दीपकको आमासँग टेलिफोनमा कुरा हुँदा ‘ट्रेनमा झगडा भएको, सनम र मलाई ट्रेनबाट फालिदिएक’ो भनेर छोरा दीपकले आफुलाई सुनाएको जानकारी दिएकी थिइन् । दीपकको पटनामा उपचार भइरहेको र धरान आउने भनेपनि अहिले दिल्ली पुगेकोले उनीप्रति आशंका बढेको पनि वडाअध्यक्ष भट्टराईले बताए ।
‘पटनामा उपचार हुदैछ, धरान आउने भनेको मान्छे दिल्ली पुगेको छ, बोली फेर्ने र सम्पर्कमा नआउने गरेपछि उहाँप्रति हाम्रो आशंका बढेको छ,’ अध्यक्ष भट्टराईले भने,‘प्रहरीले दीपकलाई चाडोभन्दा चाडो झिकाएर, सत्यतथ्य बुझेर घटनाको छानबिन गर्न चासो दिनुपर्छ । हामी पनि सनमलाई न्याय दिलाउन धरान एकतावद्ध भएर उभिनेछ ।’
मृतक सनम बुधबार छिमेकी दीपक राईसँग काम खोजेर गर्ने भन्दै दिल्ली हिडेका थिए । सामाजिक सञ्जाल फेसबुकमा ट्रेनबाट खसेर घाइते भएको र अस्पतालमा उपचार भइरहेको भन्दै तस्वीर, नागरिकता पोष्ट भएपछि परिवारजनले खबर पाएको थियो । उनको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको थियो । परिवारले शव घरमा ल्याएर शनिबार अत्येष्टी गरिसकेको छ ।
दीपक सपरिवार दिल्लीमा बस्ने भएकोले सनमलाई उतै काम गर्ने भन्दै लिएर गएका थिए । सनमले साथीभाईसँग सापटी लिएर ५०, ६० हजार जति पैसा पनि लिएर गएको खुलेको छ । मृतक सनमलाई दिल्ली लिएर जाने दीपक भने सनमसँग नभेटिएपछि र सम्पर्कमा पनि नआएपछि शंका उनीप्रति बढेको थियो । यद्यपी, केही व्यक्तिसँग मेसेन्जरमा सम्पर्क हुँदा आफुहरुलाई लुटपट र कुटपिट गरेर फालेको बताएका थिए । उनले धरान आउने बताएपनि नआएपछि उनीप्रति नै शंका बढेर गएको छ भने घटना शंकास्पद छ ।
मृतक सनमकी दिदी इन्दिरा राईले पनि भाईको शरीरको चोटपटक हेर्दा रेलबाट खसेको नभै कुटपिट गरेर नै मृत्यु भएकोले न्याय दिलाउन माग गरेकी छिन् । प्रहरीसँग पनि कुराकानी भएको र पोष्टमार्टम रिपोर्ट आएपछि जाहेरी दिने उनले बताइन् । ‘मेरो भाई त बितिसक्यो, तर घटना के भएको थियो भनेर ऊसँगै जाने दीपकलाई थाह हुनुपर्छ । त्यसैले दीपक भाई आएर हामीलाई यथार्थ बताइदिए हुन्छ,’ उनले भनिन्,‘हामी केही गर्ने होइनौं, के भएको हो, त्यो थाह पाउन चाहन्छौं ।’
भिडियो: