धरान: अवैधरुपमा गाँजाका कारोबारीहरुले यात्रुबाहक सार्वजनिक बसलाई गाँजा ओसारपसारको माध्यम बनाउन थालेपछि प्रहरीमात्र होइन, व्यवसायी र सवारीका कर्मचारीहरु पनि हैरान भइरहेका छन् ।
गाँजा भेटिएपनि कानुनी प्रक्रियाको क्रममा वा गाँजा भएको पोका कुन यात्रुको हो भन्ने पनि नखुल्दा बसका कर्मचारी र व्यवसायी कानुनी दायरा आउदा सास्ती भोग्नुपर्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठका अनुसार व्यवसायी र बसका कर्मचारी पनि पीडित हुनुपरेपछि यस्तो गैरकानुनी कारोबारलाई निरुत्साहित गर्न अभियान थालिएको हो ।
महासंघको आयोजनामा मंगलबार इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरीको सहकार्यमा पहाडी रुटमा चल्ने गाडीहरुमा सचेतनामुलक स्टिकर टाँसिएको थियो । ‘लुगा बोक्ने ब्रिफकेकमा, झोलाभित्र पोका बनाएर बोकेका हुन्छन्, र प्रहरीले पनि अनुसन्धानको क्रममा स्टाफकै मिलोमतोमा हो कि भनेर अनावश्यक झमेलामा पछौं,’ उनले भने,‘बिशेष गरि कोशी पहाडी क्षेत्रबाट अवैध गाँजा ओसारपासर हुने भएकोले पहाडी क्षेत्रको सबै गाडीमा स्टिकर टाँसेर गैरकानुनी काम नगरौं भनेर सन्देश दिन खोजेको हो ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार प्रहरीले निजी, सार्वजनिक सवारी, एम्बुलेन्सलगायतमा कडा चेकजाँच हुन थालेपछि कारोबारीहरुले गाँजालाई सार्वजनिक सवारीसाधनमा ओसारपसार गर्न थालेका छन् । प्रहरीले सार्वजनिक सवारीसाधनमा पनि कडाई गरेर सवारी चालक र सहचालक पक्राउ गरि अनुसन्धान गरिरहेको डिएसपी जबेगुले जानकारी दिए ।
‘कालो प्लेटका सार्वजनिक सवारीसाधनहरु जति पनि सवार गर्ने यात्रु महानुभावहरु, त्यस्ता व्यक्तिहरु शंकास्पद वस्तुहरु बोकेर कोही कसैले यात्रा गर्छ भनेर समयमै चालक, सहचालकलाई जानकारी गराउनुपर्छ,’ डिएसपी जबेगुले भने,‘यात्रुलाई थाह नभएपनि चालक, सहचालकलाई के थाह हुनुपर्छ भने भोली कहीकतै प्रहरीले यो सामान वरामद गर्यो भने कानुनी फन्दामा हामी पर्नसक्छौं भन्ने ज्ञान हुनुपर्छ ।’ डिएसपी जबेगुले चालक र सहचालकहरुलाई पनि सचेत गराउनको लागि स्टिकर टाँसेर सजग गराइरहेको र भविष्यमा यस्तो घटनामा कमी आउने अपेक्षा पनि व्यक्त गरे ।
भिडियो: