धरान: गए राती भारी बर्षासँगै पहिरोले धरानको वडा नं ३ हृदयेन्द्र मार्गमा लगाएको पर्खाल ढल्दा एक घरमा क्षति पुगेको छ ।
स्थानीय छजुङ भोटेको घरमाथिको पर्खाल ढलेर क्षति पुगेको हो । घटना गएराती करिब साढे १ बजेतिरको हो । ठुलो बर्षा हुन थालेपछि आफु पनि कोठाबाट बाहिर निस्केको कारण बचेको भोटेले बताइन् । ‘म सुत्ने कोठा माथिबाट नै पर्खाल घरमा ढल्यो, धन्न जोगियौं,’उनले भनिन्, ‘तर घर सबै क्षति पुग्यो ।’
उनका अनुसार करिब २ दशकदेखि उनको परिवार संखुवासभाको भोट खोलाबाट आएर त्यहाँ बस्दै आएको थियो । पर्खाल ढलेर घरमा क्षति पुगेपछि बिहानै वडाअध्यक्षसहित जनप्रतिनिधिहरु स्थलगत निरीक्षणमा पुगेका थिए ।
वडाअध्यक्ष विद्या शाक्यले राहतको लागि आवश्यक प्रक्रिया गर्न वडामा बोलाएको पनि पीडित भोटेले जानकारी दिइन् । घरसँगै आफ्नो सामानहरु क्षति पुगेको उनले बताइन् । पानी पर्न थालेपछि आफुलाई छटपट भएकोले सुत्नै नसकेको र बुबासँग बाहिर गफ गरेर बस्दा पर्खाल ढलेको उनले बताइन् ।
वडा सदस्य मिङ्मा भोटेले वडा कार्यालयकोतर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘यो घरलाई नगर सरकारले राहत स्वरुप पुर्ननिर्माण साथै वाललाई वडा, नगरको विपत बजेटबाट सहकार्य गरेर निर्माण गर्ने सल्लाह छ,’ उनले भने,‘उपमेयर ज्यु पनि निरीक्षणमा आउदै हुनुहुन्छ।’
भिडियो: