धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदको लागि सिफारिश समितिलाई प्रा.डा.बिक्रम श्रेष्ठको पनि नाम समेटेर सिफारिश गर्न चर्को दबाब परेको छ । 

चौतर्फी दबाबकै कारण सहकुलपति एवं स्वास्थ्य मन्त्री प्रदिप पौडेल संयोजक रहेको समितिले शुक्रबार नै तय गरिसकेको तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री समक्ष पठाउन सकेको छैन । शुक्रबार सर्ट लिष्टमा परेका ६ जनाको अन्तरवार्ता र प्रस्तुतीकरण पछि समितिले प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रामेश कोइराला र प्रा.डा.रोहित प्रसाद यादवको नाम तय गरेको थियो । कुलपति समक्ष तीन जनाको नाम पुग्नु अगावै बाहिरिएपछि प्रा.डा.श्रेष्ठलाई पनि सिफारिश गर्न चर्को दबाब आएपछि स्वास्थ्यमन्त्री पौडेल तत्काल नाम पठाउनबाट रोकिएको मन्त्रालय निटक स्रोतले जनाएको छ ।

bikram sth1

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा राजनैतिक भागवण्डा हुँदा वीपी प्रतिष्ठानको उपकुलपति कांग्रेसको भागमा परेको छ । कांग्रेस भित्रको गुटबन्दीको कारणले पनि उपकुलपति सिफारिशमा स्वास्थ्यमन्त्री पौडेललाई सकस परेको हो । प्रा.डा.श्रेष्ठलाई सिफारिशमा समेट्नुपर्ने माग र दबाब प्रतिष्ठान भित्रैबाट पनि भइरहेको छ ।

खास गरि प्रा.डा.कार्की उपकुलपतिमा नियुक्त भएमा प्रतिष्ठानमा उनीभन्दा पनि श्रीमति प्रा.डा.संगीता भण्डारी हावी हुने डर यहाँका चिकित्सक एवं कर्मचारी वृत्तमा छ । राजनैतिक शक्ति केन्द्रसँग राम्रो पहुँच भएकी डा.भण्डारीसँग प्रतिष्ठानकै चिकित्सक, कर्मचारीहरुसँग विगतमा चर्को विवाद भएको थियो । प्रा.डा.कार्की कायममुकायम उपकुलपति हुँदा चिकित्सक एवं कर्मचारीहरुको बढुवाको माग र आन्दोलन असफल बनाउन भण्डारीले भुमिका खेलेको भन्दै उनीविरुद्ध आन्दोलनरत पक्षको चर्को असन्तुष्टी थियो । 

prahlad karki

प्रा.डा.कार्की उपकुलपति भएमा भण्डारी नै हरेक निर्णयमा हावी हुने भन्दै प्रतिष्ठान भित्रबाट रोक्न लविङ भइरहेको छ । यसको लागि कांग्रेस केन्द्रीय नेताहरुसम्म उक्त पक्षले लविङ गरेर प्रा.डा.श्रेष्ठलाई पनि सिफारिशमा समेट्नुपर्ने दबाब मन्त्री पौडेलसम्म बढाएका हुन् । उनी आए वर्तमान पदाधिकारीसँग पनि राम्रो तालमेल नहुने चिन्ता प्रतिष्ठानमा छ । ‘सिफारिश ३ जना नै हुने हो, शुक्रबार रातीसम्म नाम तय भइसकेको थियो,’ स्रोतले भन्यो,‘नाम आउट भएपछि डाक्टर बिक्रम श्रेष्ठको नाम राख्न दबाब आयो ।’

हाडजोर्नी विभागका बिशेषज्ञ प्रा.डा. श्रेष्ठले विगतमा शिक्षाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । उनी इमान्दार, निर्णय गर्नसक्ने र हालसम्म विवादमा नपरेका चिकित्सक हुन् । विगतमा प्रतिष्ठानलाई राम्रोसँग बुझेको र यहीको व्यक्ति उपकुलपति बनाउनुपर्ने माग उठ्दा प्रा.डा.श्रेष्ठ उचित पात्र भएको चर्चा भने हुने गरेको थियो । उनी उपकुलपति बन्नको लागि व्यापारीमार्फत खर्च नगर्ने भएपछि उनको लविङ कमजोर भएको स्रोतको भनाई छ । ‘अहिले कांग्रेसकै केन्द्रीय सदस्य, पुर्वस्वास्थ्यमन्त्रीमार्फत नै उहाँको लागि पनि लविङ भएको छ, तीन जनामा पर्ने हो होइन, त्यो भाली (सोमबार) नै थाह हुन्छ,’ स्रोतले भन्यो ।