धरान: लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको छ ।
नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुन लागेको हो । आयोजकले आज (बुधबार) धरान १६ स्थित हारती अजिमा मन्दिरमा पत्रकार सम्मेलन गर्दै प्रर्दशनीलाई व्यवस्थित र मर्यादित बनाउन धरानमा रहेका सम्पुर्ण लाखेनाच संस्था वा समुहहरुसँग सहकार्य गरिएको जानकारी दिएको छ ।
दबूका अध्यक्ष मनोहर शाक्यले दिउँसो साढे ४ बजेदेखि भानुचोकमा लाखेनाच प्रर्दशनी शुरु हुने बताए । बर्षाको समय भएकोले कसरी कार्यक्रम गर्ने भनेर आवश्यक परामर्श र तयारी भइरहेको पनि उनले बताए । ‘मौषम प्रतिकुल भएपनि कार्यक्रम सम्पन्न गर्न लागिपरेका छौं,’ उनले भने ।
गत बर्ष लाखेनाच प्रर्दशनीमा १९ वटाले सहभागिता जनाएको थियो । यो बर्ष पनि १५ भन्दा बढी लाखेनाच सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताए । ‘धरान बाहिरबाट पनि र नयाँ लाखे समुहलाई सहभागी हुनसक्छ, आज साँझसम्म यो कुरा तय हुन्छ,’उनले भने ।
प्रर्दशनी एवं प्रतियोगितामा सहभागी मध्य प्रथम, दोस्रो र तेस्रो हुने लाखेनाचलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पनि दिइने आयोजकले जनाएको छ । ‘कार्यक्रममा उपस्थित हुने लाखेहरुलाई केहीहदसम्म सम्मान र प्रोत्साहित पनि गर्नेछौं,’ अध्यक्ष शाक्यले भने,‘पहिचान र सहअस्तित्वसँग पनि जोडिएको अभियान हो, सामाजिक र साँस्कृतिक सद्भाव पनि फैलाउने अभियान हो ।’