धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले बिहिबार धरानका तीन सरकारी क्याम्पसका क्यान्टिनमा अनुगमन गरेको छ । 

धरान वडा नं ८ स्थित पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस, वडा १० स्थित महेन्द्र बहुमुखी क्याम्पस र वडा १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा क्यान्टिनको उक्त टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा केन्द्रीय प्रविधि क्याम्पसको क्यान्टिन आवश्यक मापदण्डहरु पुरा गरेर सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । 

canteen1 copy

यस्तै, पुर्वाञ्चल इञ्जिनियरीङको क्यान्टिनमा केही सुधार गर्नुपर्ने देखिएकोले लिखितरुपमा निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनका प्राविधिक सहायक उज्वल कोइरालाले बताए । महेन्द्र क्याम्पसको क्यान्टिन फोहोर साथै दर्ता नभएको भेटिए पनि क्याम्पस प्रशासनले भने उक्त क्यान्टिन हाल सञ्चालनमा नभएको र नयाँ भवनमा क्यान्टिन सारेर टेण्डर आह्वान गर्ने तयारी भइरहेको प्रष्टीकरण दिएको छ । 

क्यान्टिन सञ्चालकको म्याद गत पुषमा नै सकिएकोले हाल उक्त क्यान्टिन क्याम्पसकै हेरालुले कामचलाउ सञ्चालन गरिरहेको र त्यहाँ कोही पनि खाजा खान नजाने क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए । उनले भने,‘खासमा त्यो क्यान्टिन बन्द नै हो, नयाँ भवनमा सार्ने र टेण्डर गर्ने तयारीमा छौं । त्यहाँ विद्यार्थी, शिक्षकले खाजा खादैनन्, बाहिरै जान्छन् ।’

अनुगमनमा टोली संयोजक वेदप्रसाद सापकोटासँगै सदस्यहरु खाद्यबाट उज्वल कोइराला, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, हिमाल गौतम, नगर प्रहरी प्रमुख मेघराज भण्डारीलगायत सहभागी रहेका थिए । 

भिडियो: