धरान: शुक्रबार बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी राजमार्गमा पर्ने दुधपानी खोला तर्ने क्रममा मोटरसाइकलमा बुबासँगै बगाएर कोशीमा बेपत्ता भएकी १९ बर्षीया अनिता राई अझै भेटिएकी छैन ।
हिजो करिब १ बजेर ५० मिनेटमा मोटरसाइकलमा धरानतर्फ आउदै गरेका धरान १६ का जीवन राई र छोरी अनिता दुधपानी खोलाले बगाएको थियो । उक्त खोला सप्तकोशी नदीमा मिसिने भएकोले दुवै कोशीमा बगेका थिए । स्थानीय र प्रहरीले बुबा जीवनलाई सप्तकोशी किनारबाट उद्दार गरेपनि छोरी अनिता भने वेपत्ता भएकी थिइन् ।
घटनाबारे जानकारी पाएलगत्तै तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराबाट सई राजन खड्काको कमाण्डमा ५ जना र अस्थायी प्रहरी पोष्ट चतरा पुलबाट असाई एकनाथ खतिवडाको कमाण्डमा २ जना गरि कुल १२ जना खोली खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उद्दार गरिएका बुबा जीवनको विपी कोइराला स्वस्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आज दिनभरी खोज्दा पनि भेटिएन अनिता
प्रहरीका अनुसार आज पनि दिनभरि सप्तकोशीमा अनिताको खोजी कार्य भएको थियो । कायकको मद्दत लिएर घटनास्थलदेखि राजाबाससम्म आज (शनिबार) खोजी गरिएको तर अनिता फेला पर्न नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । उनले भने, 'कायक लगाएर हिजो खसेको ठाउँबाट राजाबाससम्म आज दिनभरि खोजी गर्यौं । तर भेटिएन ।'
प्रहरी निरीक्षक कुँवरका अनुसार भोली आइतबार पनि राजावासदेखि कोशी ब्यारेजसम्म कायककै मद्दतबाट खोजी कार्य हुनेछ । कायक भनेको पानीमा चलाउने एक जनाले मात्र चलाउने सानो र हल्का डुंगा हो । जुन र्याफटिंगमा बोटलाई गाइड गर्न प्रयोग हुने गर्छ । अहिले बाढीसँगै दाउरा, रुखका ठुटाहरु बगेर आउदा ठुलो बोट चलाउन समस्या भएकोले कायकको मद्दतले खोजी गरिएको कुँवरले बताए । 'कायकले खोज्न छिटो हुन्छ, यो कुनाकाप्चा सबैतिर पुग्छ,' उनले भने, 'भेटियो भने मात्र अर्को बोटमा जाने हो ।'