उदयपुर: उदयपुरको बेलका नगरपालिका २ मा प्रहरीले बेवारिसे अवस्थामा लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरको गस्ती टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा कारबाट गाँजा वरामद गरेको हो ।
विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले बा.२१ च १८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम गाँजा सहित कारलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
उक्त कार र गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले खोजी तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले धरान उपमहानगरपालिका १७ बाट सोही स्थानका २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल १ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको पनि प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।