धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले सोमबार धरानको मुख्य नाका तीनकुनेबाट भित्रने दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा दुधको तत्काल मोवाइल ल्याबमा परीक्षण गर्दा मिसावट नभएको पाइएको थियो । तर, विभिन्न उद्योगले उत्पादन गरेको पिउने पानीको जार भने फोहोर, कुच्चिएको, पुरानो भेटिएपछि ठुलो संख्यामा नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार विभिन्न ८ वटा पानी उद्योगका १५६ वटा जार नष्ट गरिएको छ ।
उनका अनुसार धरान भित्रिने पिउने पानीका उद्योगहरुको पानी जारमा अधिकांश पुरानो, कुच्चिएको, फोहोर जार भेटिएको थियो भने लेबल विनाका जारहरु पनि भेटिएको थियो । कामै नलाग्ने जार तत्काल नष्ट गरेर लेबल नभएपनि प्रयोग गर्न मिल्ने किसिमका जारहरुलाई भने लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर उद्योगमै फिर्ता पठाइएको पनि अनुसन्धान अधिकृत वस्तीले बताइन् । अनुगमन गरिएका ८ वटा कम्पनीका गाडीहरु सबै फिर्ता भएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार गौमुखी गंगाजल प्रालि इटहरीको ५६ वटा पुरानो जार नष्ट गरिएको छ भने लेवल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, आइतबार गंगाजलको पिउने पानीको सिलप्याक बोतलभित्र किरा भेटिएको उपभोक्ताले गुनासो गरेपनि उक्त उद्योगको पानीको नमुना पनि संकलन गरेर लगिएको अधिकृत वस्तीले बताइन् ।
यस्तै, जयनेपाल जल उद्योग तरहराका ११ वटा जार नष्ट गरिएको छ भने दिव्येश्वरी जल उद्योग इटहरीका २० वटा नष्ट गरिएको छ । यसैगरि, पारीजात जल उद्योगको २९ वटा जार नष्ट गरिएको छ भने हलेसी एक्वा तरहराको ४१ वटा पुरानो जार नष्ट गरिएको, पुरानो र लेवल विना बिक्री नगर्न निर्देशन दिइएको छ ।
उपमेयर अइन्द्रबिक्रम बेघाले अनुगमन उद्योगी, व्यवसायीहरुलाई दुःख दिन र आतंकित गर्न नगरिएको प्रष्ट्याउदै आम उपभोक्ताको स्वास्थ्यको हितको लागि, बजारलाई अनुशासित र मर्यादित बनाउन भएको बताए । ‘हामीले कसैलाई आतंकित बनाउन होइन, बजारलाई अनुशासित र मर्यादित बनाउन, उपभोक्तामैत्री बनाउन र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राखेर सरकारले तय गरेको मापदण्डलाई कार्यान्वयन गरेर बिक्रीविरतण गर्न व्यवसायलाई उत्प्रेरित गर्न अनुगमन र परीक्षण गरिरहेका छौं,’ उनले भने,‘यो अभियानलाई साथ र सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्दछौं ।’
भिडियो: