धरान: झुम्का कारागारमा तीन कैदीको मृत्यु भएको घटनामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको र्यापिड रेस्पोन्स टिम (आरआटी)ले स्थलगत अवलोकन गरी अनुसन्धान र स्वास्थ्य परीक्षणसमेत गरेको छ ।
बुधबार सुनसरी प्रहरी तथा प्रशासनले कारागारमा एक सय जना कैदीलाई ज्वरो आउने, जीउ दुःख्ने, नाक बन्द हुने र केहीलाई श्वासप्रश्वासमा समेत समस्या भएको जानकारी विपी प्रतिष्ठानका उपकुलपति र अस्पताल प्रशासनलाई गराएका थिए । यो जानकारी पाएलगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा विभिन्न विभागीय प्रमुख र डिजास्टर टिमसँग समन्वय गरेर ९ जनाको आरआरटि बुधबार राती साढे ८ बजे कारागार पुगेको प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिए ।
उनका अनुसार उक्त टिममा मेडिसिन विभागबाट २ जना चिकित्सक, इर्मजेन्सी मेडिसिन तथा जेनेरल प्राक्टिस विभागबाट २ जना चिकित्सक, एनेस्थेसियोलोजी विभागबाट एक जना चिकित्सक साथै २ जना स्टाफ नर्स र २ जना ल्याब प्राविधिक रहेका थिए ।
अधिकांशमा एन्जाइटी
झुम्का कारागारमा रहेका करिब १८ सय कैदीहरु मध्ये आरआरटिले ४ सयलाई समस्या हुनसक्ने आकलन गरेर परीक्षण गरेको थियो । तीमध्ये अधिकांशलाई एन्जाइटी भएको पाइएको थियो भने एक सय जनाको शरीरको तापमान उच्च पाइएपछि थप अन्य परीक्षणहरु पनि गरेको प्रतिष्ठानले जनाएको छ ।
परीक्षणको क्रममा ३५ जनाको डंगी टेष्ट गर्दा आइजिएम पोजेटिम एक जनामा र एनएस वान पोजेटिभ एक जनामा आएको प्रतिष्ठानले जनाएको छ । कोभिड परीक्षण भने सबैको नेगेटिभ रिपोर्ट आएको थियो । आरआरटिको प्रारम्भिक जाँच र उपचार पश्चात राती नै १२ जना विरामीहरुलाई विपी प्रतिष्ठानको इर्मेजेन्सीमा अब्जरभेसनको लागि ल्याएको पनि सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिएका छन् । ती मध्ये एक जनालाई नाकबाट रगत बग्ने, २ जनालाई उच्च रक्तचाप, एक जनालाई रक्तचाप कम भएको थियो । हालसम्म उनीहरुको अवस्था सामान्य रहेको र बिहिबार पनि कारागारबाट थप ५ जना विरामी पठाएको प्रतिष्ठानले जनाएको छ ।
दुई सातादेखि कैदीको स्वास्थ्यमा समस्या
कारागारमा करिब १०, १२ दिनदेखि नै एक दुई गरी यस्ता विरामीहरु आएको आरआरटिले जानकारी पाएको प्रतिष्ठानले जनाएको छ । यस्ता समस्याले कारागारका ३ जना कैदीको निधन भएको थियो । ती मध्ये एक जनाको कारागारमै, अर्का कैदीको इनरुवा अस्पतालमा र तेस्रो कैदीको विपी प्रतिष्ठानमा निधन भएको थियो ।
प्रतिष्ठानमा निधन भएका कैदी उपचारको लागि आइपुग्दा नै सेप्टिक सक भई मल्टिपल अर्गान डिस्फक्सन सिन्ड्रोम भएको र आइसियुमा राखेर डायलाइसिस गर्दा पनि अवस्थामा सुधार नभई ज्यान बचाउन नसकेको प्रतिष्ठानको भनाई छ । करिब १५, १६ दिनअघि पनि सोही कारागारका एक विरामी आइसियुमा भर्ना भएको, जपानिज इन्सेफ्लाइटिस भएको र उपचार पश्चात फिर्ता पठाएको पनि प्रतिष्ठानले जनाएको छ ।
भाइरल इन्फेक्सनले कैदीमा समस्या
प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा.रविन मास्केका अनुसार विगत एक महिनादेखि मेडिसिन ओपिडीमा भाइरल इन्फेक्सन/ज्वरोका विरामी निक्कै वृद्धि भएको छ । झुम्का कारागारमा देखिएको समस्या पनि भाइरल इन्फेक्सनले नै हुने सम्भावना बढी रहेको डा.मास्केले बताए । उनको भनाईमा इमर्जेन्सी मेडिसिन तथा जेनेरल प्राक्टिस विभागका विभागीय प्रमुख प्रा.डा.रविन भण्डारी पनि सहमत छन् ।
उक्त घटनाको सन्दर्भमा बसेको समिक्षा बैठकले हाल प्यानिकको अवस्था नरहेको, भाइरल इन्फेक्सनबाट बच्न आवश्यक सावधानी अपनाउन जरुरी भएको निष्कर्ष निकालेको पनि प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिएका छन् । साथै, कारागारको समस्या समाधान गर्न प्रतिष्ठानले प्रशंसनीय भुमिका निर्वाह गरेको र भविष्यमा यो समस्या अझ बढेमा प्रतिष्ठानले पुर्वतयारी गर्न जरुरी रहेको पनि निष्कर्ष समिक्षा बैठकले निकालेको छ ।