धरान: जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरी गोली लागेर सहिद भएका साजन मेवाहाङका दुई छोरा अभिभावकविहिन भएका छन् । 

स्वर्गीय साजनका श्रीमतिको पनि दुई बर्षअघि नै निधन भइसकेको थियो । उनीहरुका दुई १३ बर्षीय रेकजन र ६ बर्षीय जिमी मेवाहाङ रहेका छन् । आमा बुबा दुवैको निधन भएपछि अभिभावकविहिन बनेका रेकजन र जिमी धरान वडा नं ५ आँपटार चौरस्थित मृतक साजनका दाजु नयन्द्रकुमार मेवाहाङको संरक्षणमा रहेका छन् । यसअघि भने दुवै छोरा बुबा साजनसँगै भक्तपुरमा बस्दै आएका थिए । मजदुरी गरेर साजनले उनीहरुलाई हुर्काइरहेका थिए ।

आमाबुबा दुवैको निधन भएकोले दुई छोराको पालनपोषण र शिक्षा अन्योलपुर्ण बनेको छ । साजनको नाममा कही पनि घरजग्गा नभएको र धरान ५ मा बस्दै आएका उनका दाजुको आर्थिक अवस्था पनि राम्रो छैन । त्यसैले सहिदका छोराहरुको भविष्य अन्धकार नहोस् भनेर किरात मेवाहाङ याखोम्मा केन्द्रीय कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आर्थिक सहयोग अभियान शुरुवात गरेको घोषणा गरेको छ । 

sajan mewahang copy

स्वर्गीय साजनका दाजुको घर धरान वडा ५ आँपटार चौरमा पत्रकार सम्मेलन गर्दै याखोम्माले सहयोग अभियान शुरुवात गरेको जनाएको छ । सरकारले घोषणा गरेको राहत रकम तत्काल उपलब्ध नहुने र उक्त रकमले बच्चाहरुको भरणपोषण, शिक्षा र स्थानीय बसोबास गर्न सम्भव नहुने भएकोले सहयोगको अपिल गरिएको महासचिव विश्वरसिंह मेवाहाङले बताए ।

पर्याप्त सहयोग जुटेमा दुई छोराको लागि घरजग्गाको प्रबन्ध गर्ने योजना रहेको पनि उनले खुलाए । ‘हाल नाबालकहरुको नाममा राष्ट्रिय वाणिज्य बैंक धरान शाखामा खाता खोलिएको छ, देशविदेशमा रहनुहुने सहयोगी दाताहरुले अबोध बालकहरुको भविष्य निर्माणमा योगदान गरिदिनुहुन अपिल गर्दछौं,’ उनले भने ।

पत्रकार सम्मेलनमा हालसम्म प्राप्त भएको सहयोग रकममध्ये खर्च भएको र बचत भएको रकम पनि जानकारी दिइएको थियो । सरकारले जेन जी सहिद परिवारलाई १५ लाख राहत दिने निर्णय गरेको छ । यस्तै, धरानको कार्यपालिका बैठकले सहिद साजन मेवाहाङका दुई छोराको शिक्षाको लागि ५ लाखको अक्षय कोष खडा गर्ने निर्णय गरेको छ । 

भिडियो: